मंसिर ९ काठमाडौ – महिला अधिकार मञ्च बाँकेले फेरि काठमाण्डौ माइतीघर मण्डलामा बिहिवार देखि आन्दोलन सुरु गरेकाे छ।

बिहिवारबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान देशभर सुरु भएकाे छ र सरकारले पनि सफलता पुर्वक सम्पन्न गर्न सबै स्थानीय तहलाई भनेकाे छ। तर पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारले बेवास्ता गरेकाे ननकुन्नी धाेबी र निर्मला कुर्मी बारे सरकार आफै उदासिन छ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै निरन्तर न्यायका लागि आवाज उठाउदै आएकाे मानवअधिकार कर्मि रुबी खानकाे नेतृत्वमा चौध जनाकाे टाेली दाेस्राे पटक काठमाडौ आएकाे हाे।

यसअघि नेपालगन्जबाट पैदल हिडेर काठमाडौ आएकाे खानकाे टाेलीलाई प्रहरीले हस्तक्षेप गरेकाे थियाे भने खानलाई पक्राउ गरि बाँके लिएकाे थियाे। अदालतले खानलाई पुनः पक्राउ नगर्ने गरि रिहा गर्न भनेपछि खान रिहा भई न्याय नपाए सम्म अनिश्चितकालीन धर्ना कार्यक्रम अन्तर्गत दिउसाे १ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँके अगाडि न्यायका लागि कलम चलाउनुस सरकार, के राष्ट्रिय छानबिन समितिकाे प्रतिवेदन पनि बेकार ? भन्ने नारा र मागहरु लेखिएका व्यानर, कलम र प्रधानमन्त्री लगाएतकाे फाेटाे सहितकाे प्लेकार्ड बाेकेर निरन्तर एघार दिन सम्म धर्ना दिदा पनि सरकार पक्ष गम्भीर नभएपछि पुन:काठमाडौ आएकाे खानले जनसहारा अनलाइन संग बताइन।

महिला अधिकारकर्मीले राखेका मागहरु
१.राष्ट्रिय छानबिन समितिले गृहमन्त्री ज्यूलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।

२.निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि सी.आई. बी सहित विज्ञ टोली बनाई तत्काल निर्मला कुर्मी काे सम्पत्ति छानबिनका लागि पठाइयोस ।

३.निर्मला कुर्मी हत्याको पुन निष्पक्ष अनुसन्धान छिटो छरितो रूपमा गरियोस् ।

४. मुख्य अभियुक्तलाई अहिले सम्म संरक्षण गर्ने बाँकेका एस.पी श्याम कृष्ण अधिकारी तथा डी एस पी मधु सुदन न्यौपानेलाई तत्काल विभागीय कारबाही गरियोस् ।

जनसहारा अनलाइन संग कुरा गर्दै खानले भनिन् “बिहान १० बजेबाट हामिले अनिश्चितकालीन आन्दोलनकाे घाेषणा गरि धर्नामा छौ अहिलेसम्म सरकार पक्ष मौन छ। हामीलाई अन्य अधिकारकर्मी साथिहरुबाट पनि हौसलाकाे उर्जा मिलेकाे छ।´ जबसम्म न्याय मिल्दैन तब सम्म निरन्तर हामी यहि छौ।”

विधवा महिला निर्मला कुर्मी काे अपहरण, शरीर बन्धक कर्तव्य ज्यान मुद्दामा सत्य तथ्य छानबिनका लागि सरकारले पठाएको छानबिन समितिले सत्य तथ्य छानबिन गरी २०७८ कार्तिक १४ गृहमन्त्री समक्ष प्रतिवेदन बुझाइ सकेको छ। तर सरकारद्वारा उक्त प्रतिवेदन अहिले सम्म पनि सार्वजनिक नगरेकाे र कार्यान्वयन नगरिएको प्रती महिला अधिकारकर्मीहरुकाे आपत्ति जनाएका छन ।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि गत कार्तिक २७ गते देखि दोस्रो चरणको आन्दोलन स्वरुप दैनिक एक घण्टा जिल्ला प्रशासन अगाडि धर्ना कार्यक्रम गर्दै आएकाे थियाे। पिडितले आठजनाकाे किटानी जाहेरी दिएकाेमा सात जना आरोपित पक्राउ परे पनि एकजना मुख्य अभियुक्त पूर्व सांसद बादशाह कुर्मी पक्राउ नपरेकाे भन्दै पिडित परिवार सहित महिला अधिकारकर्मी न्यायकाे लागि निरन्तर आन्दोलनरत छन।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार