कात्तिक २२ सल्यान — आइतबार कपुरकाेट खारखाेलामा भएको बस दुर्घटनामा १२ जनाकाे ज्यान जानेगरि पिडा सेलाउन नपाउँदै सल्यान र दाङको सिमाना आज सोमबार बिहान करिब ९ बजे २१ जना सवार जिप दुर्घटना भएकाे छ।

सल्यानबाट दाङ तुलसीपुर जाँदै गरेको यात्रु वाहक मे १ ज ५२२ नम्बरको जिप सल्यान र दाङको सिमाना पर्ने एक्लेबर नजिकै दुर्घटना हुदा
एकजनाकाे घटनास्थलमै मृत्यु भएको र १९ जना घाइते भएका छन। जीप सडकदेखि ५० मिटर तल खसेको छ। जीप चालक डम्मर खत्री भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

दुर्घटनामा परि कालिमाटी गाउँपालिका–३ बस्ने जिप मालिक ३३ वर्षीय देवबहादुर सुनारको मृत्यु भएको छ । घाइते १९ जना मध्ये ३ अवस्था गम्भीर रहेकाे छ। दुर्घटनामा घाइते हुनेमा दंगिशरन गाउँपालिका–२ की २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका २ की २३ वर्षीया पवित्रा ओली र उनका ३ वर्षीय छोरा बिज्रेश ओली, ३२ वर्षीया कमला बस्नेत र उनका १० वर्षीय छोरा प्रशान्त खत्री, शान्तिनगर गाउँपालिका ४ की ३५ वर्षीया खली ओली, तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया शोभा बुढाथोकी र उनका ७ वर्षीय छोरा लोकेन्द्र बुढाथोकी, कालीमाटी गाउँपालिका ३ की २८ वर्षीया रीता खत्री, ३९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खेमराज बुढाथोकी, ५ वर्षीय प्रशान्त राना , १७ वर्षीया सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की ३५ वर्षीया पवित्रा बुढाथोकी, ३० की पिमा खत्री, बाँके कोहलपुर नगरपालिका ४ की ३२ वर्षीया दीपा ओली, १५ वर्षीया संगिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी, बर्दिया बासघारीकी २८ वर्षीया सुशिला राना रहेका छन् ।

अहिले घाईते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको गम्भीर घाइतेहरुलाई रिफरकाे लागि तयारी गरिएको बताएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार