कात्तिक १३ सल्यान – बाह्रौं राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम जनकल्याण नमुना मा.वि. थारमारेमा आजदेखी सुरु भएको छ ।

स्थानीय जनगणना समन्वय समिति संयोजक एवं बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालको अध्यक्षता र नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महा अभियानबाट महत्त्वपूर्ण तथ्यांक प्राप्त हुने र सम्वृद्व नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको बताएका छन ।

कार्तिक १३,१४,१५ र १६ गतेसम्म संचालन हुने उक्त तालीमसँगै कार्तिक १५ र १६ गते दुई दिने सुपरिवेक्षक तालीम पनि संचालन हुनेछ । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ।

उक्त तालीममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरुको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय जनगणना अधिकारी टेक बहादुर डि.सी., ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल थापा, मुख्य प्रशिक्षकहरु शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी., डा. पूर्ण बहादुर भण्डारी, चुडामनी के.सी., विरेन्द्र प्रकाश डि.सी., रविकिरण ओली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार