मुक्तक १

उदाउँछ कहिले कहर जलेको बिहानी
उकुसमुकुस अन्धकार ढलेको बिहानी
कयौं दिन महिना वर्ष बितिसके खै त
आउदैन किन तिक्तता गलेको बिहानी ।।

मुक्तक २

भुल्छु म बर्तमान झस्किन्छु घरीघरी
संझिदा हिजोलाई चस्किन्छु घरीघरी
यसो किन भयो ? सोध्दैछु आफैलाई
रमाउछु उन्मुक्त खस्किन्छु घरीघरी ।।

मुक्तक ३

भयो जिन्दगानी तरेलिको पानी जस्तो
झिम्क्याउदा झर्ने परेलीको पानी जस्तो
खै कस्तो कस्तो बुझ्न ठम्याउनै नसकीने
टर्रो तितो नमिठो करेलीको पानी जस्तो ।।

मुक्तक ४

अनुभुतीले मन बलियो हुँदोरहेछ
छुन त अनुभवलेनै मन छुँदोरहेछ
जिवनको भोगाई हो या त शाश्वत
कोट्याउँदा कसैले मन रुँदोरहेछ।

मुक्तक ५

इशाराले बोलाउछौं तिमि नसुनेझै गरी
मस्की मस्की अघि सर्छौ नबुझेझै गरि
नाटक तिम्रो कति यौवनको मात होला
प्रेममय बाछिटाले रुझेनी नरुझेझै गरी।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार