श्रावण १९ गुल्मी – विश्व हिन्दु महासंघ र दलित साझा मञ्च गुल्मीको आयोजनामा सामूहिक रक्षा बन्धन गरिएको छ। सामाजिक सद्भाव, समानता र एकताको सन्देश दिन सामूहिक रक्षाबन्धन गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।
समाजमा अझै पनि जातीय विभेद कायमै रहेको र त्यसलाई अन्त्य गर्न पनि सामूहिक रक्षाबन्धन गरिएको भुसालले बताए। सयौं वर्ष पहिलेदेखि जरो गाडेर बसेको जातीय विभेद अन्त्य गर्न यसले ठूलो भूमिका खेल्ने दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले गुल्मीबाट राम्रो कामको सुरुवात भएको बताए। तम्घासको बालमन्दिरमा पण्डित भीमकान्त पन्थीले ८३ वर्षीया जानकी विश्वकर्मा र ८० वर्षका सूर्यबहादुर नेपालीलाई डोरो बाँधी यसको सुरुवात गरेका थिए। कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता थियो।