श्रावण २४ सिन्धुपाल्चोक – चाेरीकाे आराेपमा प्रहरी हिरासतमा रहेका एक जनाको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा चोरीको आरोपमा पक्राउ परेका बाह्रबिसे नगरपालिका ७ घुम्थाङका ३२ वर्षीय खडग बहादुर भनिने बसेला तामाङ रहेका छन।

बसेलाको शंकास्पद मृत्युपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन्। पीडित परिवारले आइतबार बाह्रबिसे बजार परिक्रमा गरेर प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन्। प्ला कार्ड र ब्यानरसहित पीडित परिवारले नारा लगाउँदै निष्पक्ष छानबिनको सहित पिडितले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरिरहेका छन।

गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले बसेलालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

उनलाई चोरीको आराेपमा प्रहरीले साउन १८ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। सहकारी फुटाएर ८१ हजार ७२५ रुपैयाँ र अर्को एक जनाको एक लाख चोरीको आरोपसहित प्रहरीले उनलाई पक्राउ गरेको बताए।

प्रहरीका अनुसार उनी सुरूकै दिनदेखि बिरामी थिए। अत्यधिक रक्सी चुरोट खाने कारण पटकपटक नाकबाट रगत बग्ने र रक्सी खान नपाएपछि धेरै गाह्रो हुने गरेकाे प्रहरीको दाबी छ। स्वाथ्यमा समस्या देखिए पछि उनलाई अस्पताल लगिएको प्रहरीको भनाइ छ।

धुलिखेलमा गत शुक्रबार मृत्यु भएको बसेलाको शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। प्रहरी हिरासतमा हुँदा पनि अस्वभाविक व्यवहार देखाउने गरेको प्रहरीले जनाएको छ।

हिरासतमा रहँदा टाउको, हात ठोक्काउने, लगायतको क्रियाकलाप गर्ने प्रहरीको भनाइ छ। मृत्तक बसेको जिउमा कुटेजस्तो देखिने पुरै निलडाम स्पष्ट देख्न सकिन्छ।

पक्राउपछि प्रहरीले चार दिनसम्म हिरासतमा राखेर कुटपिट गरेको स्थानीयले दाबी गरेका छन्। पीडित पक्षले बाँच्न पाउने अधिकार सबैको भएकाले मृतकको शरीरमा भएको डाम के हो? भन्दै प्रश्न समेत गरेर सडकमा उत्रिएका छन्। घटनाबारे छानबिन भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार