शनिवारको दिन , मेरो शनि मन्दिर दर्शन बिसौँ वर्षदेखि हुँदै आएको छ। आज पनि भयो । त्यहाँ दर्शन गर्नेको भिड सँगसँगै माग्नेहरुको पनि भिड त्यतिकै लाइनबद्ध भएर बसेका ।मन्दिरमा फूल ,अक्षता भेटी चढाएँ, सधैँ जसो मैले माग्नेहरुलाई एक मुठी चामल , पैसा छ्यासमिसिएका केही चकलेट फूल दिदै आफ्ना नराम्रा ग्रहहरू मासिएर शुभ होस् भन्दै अघि बढ्दै गएँ तर सधैँ छेउमा बस्ने गरेकी एक बृद्ध आमा आज देखिनँ। मनमा अनेक कौतुहल जाग्यो । मन चिसो भएर अनेक प्रश्न उठे । उनका बारेमा नजानेसम्म अगाडि बढ्ने इच्छा भएन। त्यतिकै बाटो लाग्ने इच्छा भएन , सोधेँ नजिकै मागेर बस्ने अर्को महिलालाई , आज यहाँ बस्ने आमालाई देखिनँ , किन आउनुभएन ?
हजुरलाई थाहा छैन ?
अस्तिको शनिबार ….
मेरो टाउको रन्थनिएर आयो । ठुलो निधार ,पातलो शरीर ,पोतो बसेको गाला हेर्दै भाग्यमानी र मायालु परेकी महिला झल्झली आँखा अगाडि घुमिन् । म थचक्क बसेछु।
के भयो नानी ? उनको प्रश्नले म झसङ्ग भएँ ! ती आमालाई सम्झेँ, मेरो छोरो पनि छ भनेर भन्नुहुन्थ्यो ।ती महिला भन्दै थिइन् ,भाग्यमानी रहिछन् बुढी ,द्वन्द्वकालमा हराएको छोराले चिन्यो र गाडीमा राखेर लग्यो । खै कताको ठुलो मान्छे हो रे । बुढी खुसी हुँदै गइन् । संकटको सामना गर्न सक्यो भने दिन आउँछ भन्थे हो रहेछ।
धन्य शनिदेव ! आमाका अढैया र साँढेसाती दशा समाप्ति भएछन् ।अब देश र जनताका जीवनमा बृहस्पति अनुकूल भएर बसून् ।

जनहितमा जारी सन्देश