जहाँ
विश्वासको शीतलता
छाएको हुन्छ धुरीमा
एकमाथि अर्को इटा
थपिन्छ मायाको
परिश्रम
र आँसुले भिजेका
हर इटामाथि आकर्षक
रङ् रोगन गर्दै
स्वर्णिम सपना बुन्दै
अगाडि बढ्छन्
घाम
र जून
बचेरोका पखेटा
यदाकदा
डुल्दा डुल्दै अचानक
उपस्थित हुन्छे
अर्की बचेरी
कोकिलकण्ठले
मन्त्रमुग्ध बनाउँछे
घरका भित्ता भित्तामा
टागिन्छन् नयाँ तस्विरहरू
आत्मीय मनहरू
जोडिदै जान्छन्
सुरक्षाको अनुभूति गर्छन्
बेमेल मन
र सम्बन्धहरू
टुट्दै जान्छन्
आस्था
अनि भरोसाको घर
बलियो
र मजबुत हुन्छ
अविश्वासको घर
फुट्दै जान्छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार