बैशाख १७ जाजरकोट – मध्यपहाडी लोकमार्ग अन्तर्गतको भेरी नदी स्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको छ ।

अहिलेसम्म पुलको जग निर्माण समेत पूरा भएको छैन । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डको निर्माण पनि अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले लिएको थियो । कम्पनीले एक सय मिटरको पुल निर्माण गर्न २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । पुल नबन्दा सडक स्तरोन्नतिको काममा समेत समस्या भएको छ ।

जनहितमा जारी सन्देश

पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय, दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताउनु भयो । उहाँका अनुसार पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउन्डेसन निर्माणको काम भए पनि जाजरकोट तिर कुनै काम भएको छैन । ‘पुलको सबस्टक्चरकै काम पूरा भएको छैन,’ उहाँले भन्नु भयो, ‘सुपर स्टक्चरको काम झन कहिले होला ’ कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उहाँको भनाइ छ । पुल निर्माणको कार्य तत्काल अघि बढाउन ताकेता गर्दै यो वर्ष दुईपल्ट पत्राचार गरिसकेको कार्यालयले जनाएको छ । इन्जिनियर पौडेलका अनुसार पुल निर्माणका लागि सुरुका वर्षमा जग बनाउन समस्या थियो । तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको उहाँले बताउनु भयो ।

भेरी नदीको बहाव सुरु भइसक्यो, त्यसैले सबस्टक्चरको काम गर्न चुनौती छ,’ उहाँले भन्नु भयो, ‘ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौं ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललगायतको टोलीले एक महिनाअघि आयोजनाको अनुगमन गरी ठेकेदारलाई तत्काल काम अघि बढाउन निर्देशन दिएको थियो । ठेकेदारले पहुँचको आडमा कार्यालयको ताकेतालाई बेवास्ता गर्दा पुल निर्माणमा समस्या भएको आयोजनाका सुपरभाइजर प्रशान्त यादवले बताउनु भयो । ‘पुल निर्माणका लागि ल्याएका डोजर, टिपर, मिक्चरलगायत मेसिन निर्माणस्थलमा अलपत्र छन्,’ उहाँले भन्नु भयो, ‘अधिकांश उपकरण काम नलाग्ने अवस्थाका छन ।’ उहाँका अनुसार पुल निर्माणका लागि ल्याएको छड, गिट्टी बालुवालगायत निर्माण सामग्री पनि निर्माणस्थलमा अलपत्र छ ।

पुल निमार्णको जिम्मा लगेको वाइपी कन्स्ट्रक्सन प्रालीका प्रोपाइटर राजुप्रसाद श्रेष्ठका अनुसार सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएको र ‘पुल निर्माण सुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेकाले पुल निर्माण कार्यमा ढिलाई भएको श्रेष्ठले बताउनु भयो ।

पासागाड खोलाको पुल पनि आठ बर्षदेखी अलपत्र अवस्थामा

उता सुर्खेत संग जाेडने छिन्चु जाजरकोट सडक अन्तर्गत पासागाड खोलाको पुल पनि आठ बर्षदेखि अलपत्र परेको छ । सडक विभागको लापरबाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो । छिन्चु, जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् । तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको आठ वर्ष वित्दा समेत पासागाड खोलाको पुलको निर्माण सुरु हुन सकेको छैन । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी, ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो ।

कन्सलटेन्सीले हचुवाको भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताउनु भयो । प्रमुख झाका अनुसार पुल निर्माणका लागि आठ वर्षअघि ३ करोड रुपैयामा लुम्बिनी आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको छ । सुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइन बीच तालमेल मिलेन उहाँले भन्नुभयो पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्कौ हुँदा काम गर्न समस्या भएको हो ।
आइएमई आरसी कन्सलटेन्सीले ७ लाख रुपैयाँमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दुरी २५ मिटरभन्दा बढी छैन । आठ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो ।

डिभिजन प्रमुख झाका अनुसार सडक विभागले उक्त डिजाइनलाई रद्द गरी नयाँ डिजाइन गरिसकेको छ । नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार निर्माण गर्न ठेकेदारले नमानेपछि पुलको काम अलपत्र परेको बताउनु भयो । पुरानो दररेटअनुसार लागत घट्दा निर्माण कम्पनीले काम गर्न सक्के अवस्था देखिएन प्रमुख झाले भन्नुभयो नयाँ डिजाइनअनुसार करिब ३ करोड रुपैयाँको लगानीमा २५ मिटरको पुल बन्नेछ ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार