बैशाख १२ रूपन्देही — तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा अध्यनरत एक छात्राकाे उच्च ज्वरोको कारण मृत्यु भएको छ।

मृत्यु हुनेमा बाेर्डिङकाे होस्टलमा बस्दै आएकी कक्षा दशमा अध्यनरत १५ वर्षिया प्रतिभा सापकाेटा रहेकिछिन। गत दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएकि छात्राको शनिबार मृत्यु भएको हाे।

जनहितकाे लागि जारी सन्देश

विद्यालयले उपचार नै नगरी  छात्रा बिरामी भएको भन्ने खबर आफन्तलाई गराएको थियाे। खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लिए लगत्तै चिकित्सकले मृत घोषणा गरे । ती छात्रा बिरामी भएको विद्यालयलाई थाहा भएपनि उपचारमा कुनै ध्यान नदिएकाे मृतकका आफन्तले बताएका छन। विद्यालयको होस्टलमा ८० जना विद्यार्थी बस्दै आएका छन । अहिले याे घटना पछि भने आफ्ना छाेराछाेरी असुरक्षित भएको भन्दै अन्य विद्यार्थीलाई अभिवावकले आ-आफ्नो घरमा लिने तयारी गरेका छन।

नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिएकाे थियाे। साेहि अनुसार परीक्षा सञ्चालन भइरहेको छ। प्रतिभा पनि परीक्षा दिइरहेकी थिइन। शुक्रबार उनीमा केही समस्या नभएको र शनिबार बिहान मात्रै एक्कासि उच्च ज्वराे देखिएकाे हाेस्टेल वार्डेन परशुराम पुरीले बताए। उनलाई देखिए जस्तै लक्षण रुघाखोकी र सामान्य ज्वरो समेत आएका त्यहि हाेस्टेलमा बस्ने ४३ जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ। मृतक प्रतिभा सहित सबैकाे रिपोर्ट आइतबार आउने प्रयोगशालालेे बताएको छ।

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद सापकाेटाले शुक्रबार देखि नै विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको बताए। तर परीक्षा चलिरहेको हुदा बिचमा बन्द गर्न नहुने र परीक्षा सकिए लगतै बन्द गर्ने शिक्षक स्टाफहरुकाे सल्लाह आएपछि त्यहि निर्णयमा पुगेकाेे बताए। अभिभावकहरुले भने लापरबाहीले छात्राकाे मृत्यु भएकाे आरोप लगाएका छन। बिरामी हुदा खबर नगरि अन्तिम अवस्थामा पुगेपछि एकैपटक परिवारकाे जिम्मा लगाउन खाेजेकाे हुदा आवश्यक छानवीन हुनुपर्ने माग राखेका छन।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार