उमेर असीको हाराहारी
हाड र छालाले बेमान गरेको
झोल्टुङ परेका मासुका थैला
बादलले ढाकेका धमिला आँखा
तिलचामले केश,लोत्रिएका कानका लोती
बाक्लिएका नङ्
बुढेसकालको यथार्थ ।
तै पनि बांच्ने रहर हजार।।
मनमा हजार आशाका तान्द्रा
परिवारको मीठो बोलीको आशा
एकैठाउँ बसेर खाने रहर
राता गिंजा देखाउँदै हाँस्ने रहर
आनन्दको निद्राको चाहना
सबैको माया पाउने झिनो आशा
तै पनि बाँच्ने असंख्य रहर।।
कुप्रि पारेर ढाड लच्काउंदै हिड्ने बाध्यता
छिमेकीसंगका मिठा वार्तालापमा
दिन गुजार्ने रहर
रोगले नथिचे हुन्थ्यो भन्ने चाहना
आन्द्रा चुडिने गरि खोकी नलागे हुन्थ्यो
ठिम्रे ओखती नखान परे हुन्थ्यो
ओछ्यानै नपरी फुस्स प्राण गैदिए हुन्थ्यो
छोराछोरीलाई दुख नदिई जान पाए हुन्थ्यो
तै पनि बाँचुन्जेल खुशिले बाँच्ने हजार रहर।
रहर हजारौं हुन्छन्
तर
आज न त खाने रहर
न त राम्रो लाउने रहर
मात्रै छ त एउटै रहर
सबै छोराछोरीको काखमा आनन्दले निदाउने रहर
यति नै हो
तर बिडम्वन हो कि बाध्यता हो
ईश्वरको कृपा हो कि श्राप हो
एक्लो फगत एक्लो बनिने बेला रहेछ
बुढेसकाल।
भोको पेट कहिले आधा पेट खोले
सत्र ठाउँ टालेका लुगा
न जाडो छेक्यो
न त कम्मर कस्यो
छोराछोरी अर्घेला भयनन्
सन्तानसंग कहिल्यै झर्को लागेन
ती दिन कहाँ गए पत्तै भयन
आज तिनै सन्तानदेखि टाढा हुनुपर्ने
हे दैव तेरो लिला अपरम्पार रहेछ।
मनभित्र कुन्ठिएका हजार गुनासा
बोकेर काल पर्खिनु पर्ने बुढेसकाल रहेछ
अर्घेलो हुने बेला बुढेसकाल रहेछ
सन्तानको बोझ बनिने बेला बुढेसकाल रहेछ।।