चैैैत ८ बैतडी – चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार हत्यामा संलग्न भएको भनी प्रहरीले गत फागुन ५ गते दिनेश भट्टलाई सार्वजनिक गरेकाे थियाे। तर अहिले सुधारगृहमा रहेका दिनेशले अभियोग अस्वीकार गरेका छन्। जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले घट्नामा आफ्नो संलग्नता नरहेको तर घट्ना देखेकाेे भनी बयान फेरेका छन।
आइतबार सुधार गृहमा भेट्न गएका बुवा दिपकराज भट्टसँग दिनेश उक्त कुरा बताएका हुन। दिपकराजले महेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत दिनेशकाे बयान बारे सार्वजनिक गरेका हुन। फोनमा पनि मैले अपराध गरेको होइन भनेको थियो। भेटमा पनि घट्ना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदने धम्की दिएपछि कसैलाई नभनेको र घट्नामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारीकाे नाम सहित किटान गरेका छन भने अर्का एकजनालाई आफूले नचिनेको दाह्री पालेकाे र मास्क लगाएर आफुलाइ चक्कु देखाउदै धम्की दिएकाे दिनेशले बताएको बुवा दिपकराजले बताए।
घटनामा संलग्नहरूले भागरथीको मोबाइल जबर्जस्ती आफ्नो हातमा दिएका र त्यसपछि आफूले सिम निकालेर मोवाइल फालेको दिनेशले अहिले पनि स्विकार गरेका छन तर घडी पनि हामीले यो ठाउँमा फालेका छौं भनेर दिनेशलाई ती व्यक्तिहरुले देखाएर मोटरसाइकलमा खोचलेकतिर फर्किएकाेे दिनेशले बताएको दिपकराजले बताए । भागरथीका काका शिवराज भट्टले दिनेशले उसका बुवासँग गरेको कुराको आधारमा त्यो मान्छेमाथि अनुसन्धानमा तानिनुपर्छ तर निर्दोष फस्नुहुदैंन। दोषीलाई कानुनी कारवाही गर्नुपर्ने बताएका छन।
दिनेशले नाम किटान गरेको मान्छेले हामीमाथि केही गर्छ भन्ने डर लागेको छ। त्यसैले हामी स-परिवार दिपायल सरेका छौ म र मेरो परिवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। हामी असुरक्षित भयौं। आफ्नो छोरा निर्दोष रहेको र नाम किटान गरेका व्यक्तिमाथि अनुसन्धान हुनुपर्नेे माग दिपकराजले राखेका छन।
प्रहरी के भन्छ ?
प्रहरीले भने विभिन्न तथ्य,प्रमाण र बयानका आधारमा दिनेशलाई सार्वजनिक गरिएको जनाएको थियो। अनुसन्धानका क्रममा दिनेशले आफू एक्लै उक्त घटनामा संलग्न रहेको स्वीकारेको र उसले विद्यालय छाेडेकाे समय देखि बाट नै अनुसन्धान गर्दा र उसकाे बयानकाे आधारमा तथ्य प्रमाण फेला परेकाले दिनेश नै संलग्न रहेकाे प्रहरीकाे दाबी छ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुिसार सुरु देखि अन्त्य सम्म प्रमाणहरू जुटाउन हामीले चार पटकसम्म अदालतबाट म्याद थपेर गरेकाे अनुसन्धानबाट प्राप्त भएको तथ्य प्रमाणले घटनामा दिनेश एक्लै रहेको देखाउछ। अनुसन्धानका बेलाको सबै प्रमाणहरू हामीँसंग सुरक्षित छन। अनि अदालत गइसकेकाले प्रहरीकाे तर्फबाट अनुसन्धान सकिसकेको हुदा अब याे विषयमा प्रहरीले कुनै प्रतिक्रिया दिन उचित नहुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।