फागुन २७ काठमाडौ – सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) को सातौं अधिवेशन  सम्पन्न भएको छ। अधिवेशनबाट केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित भएका छन् ।

काठमाडौंमा बिहीबार भएको मतदानबाट गिरी फराकिलो मतान्तरबाट निर्वाचित भएका हुन।  निर्वाचनमा कुल १७८ मत खसेको थियाे। जसमा ३ मत बदर भएकाेमा १६१ मत गिरीकाे थियाे भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालकाे १४ मत थियाे। निर्वाचित गिरी दाङकाे तुलसीपुरबाट प्रसारित रेडियो तुलसीपुरका स्टेसन म्यानेजर र नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद समेत हुन।

यसअघि गिरी अकोराबकाे केन्द्रीय सदस्य, सचिव, बरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी पूरा गरिसकेका थिए। गिरीकाे उम्मेदवारीमा नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन, नेकपा एमाले र जसपा लगायत दल निकट पत्रकाहरुको गठबन्धन गरिएको थियाे।

अधिवेशनबाट अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी,उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार र भुवन सिंह चयन भएका छन् ।  महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार