जेठ २१, सल्यान – बागचाैर नगरपालिका सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) काे आयोजनामा ३ दिने ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ताहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ ।

नगरपालिकामा निर्माणाधीन सुस्वा कार्यक्रम बाट संचालित खानेपानी आयोजना, नगरपालिकामा संचालित पुराना खानेपानी आयोजना बाट मर्मत तथा सम्भार कार्यकर्ताहरुकाे तालिममा सहभागी रहेको थियो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्रदर्शनी तथा उपयोग गर्ने तरिका, ग्रामीण मर्मत तथा संभार कार्यकर्ताले गर्नुपर्ने मुख्य काम बारे प्रयोगात्मक अभ्यास गराइएकाे थियाे ।

तालिमकाे समापन समारोहमा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले खानेपानीको मर्मत सम्भार कार्यकर्ताले तालिम पश्चात आफ्नो गाउँ, ठाउँमा सञ्चालित खानेपानीको मर्मत सम्भारका लागि काम गर्न सक्ने विश्वास व्यक्त गरे । उनले तालिममा सहभागीले प्रयोगात्मक र व्यहारिक तालिम सिकेर त्यसलाई समुदायमा प्रयाेग गरेर स्वरोजगार समेत बन्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको बताए ।

वडा नं. २ का वडा सदस्य माेहलाल डाँगीकाे अध्यक्षतामा भएको तालिमको समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. १ निवर्तमान वडा अध्यक्ष नेत्र डाँगी, वास इकाई फाेकल प्रसन नवराज डाँगी, वास इकाईका कर्मचारी, प्रशिक्षक, प्राबिधिक, कर्मचारी लगायतको उपस्थिति रहेकाे थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार