सृष्टीलाई युगौंयुग धान्ने
जिम्मेवारी बोकेकी आमा
कहिले हिलोमा
कहिले धुलोमा
कहिले भिरमा
कहिले पहरामा
कहिले खोलामा
कहिले पाखामा
कहिले गाऊंमा
कहिले शहरमा
कहिले देशमा
कहिले बिदेशमा
अनवरत खटियकै छौ।
काखको सन्तान हेर्ने
आंखा कहिल्यै निराश हुंदैनन्
खाली पेटले कहिल्यै
बिद्रोह गर्दैन
थिलिएको शरीरले
कहिल्यै थाक्न मान्दैन।
न त चिटिक्क परेर
राम्री हुन समय पुग्छ
न त पलेंटी कसेर
मस्तले मुख बाउन समय पुग्छ
समय त केवल
छोराछोरीको मुहार हेर्न मात्र पुग्छ।
थकाई मर्छ
भोक मेटिन्छ
अनायास खुशिले
उच्छृंखल भएर भन्छ
छोराछोरी खुशी छन्।
संघर्ष गर्दागर्दै
सन्तान हेरीहेरी
जीवनलाई क्षितिजमा पुर्याएर
ओरालो लाग्ने बेला
छोराले फेसबूकमा
फोटो टांस्यो
ह्याप्पी मदर्सडे आमा !!!!
लव यु!!
जीवनको एकपल सन्तानको
मिठो बोली सुन्न तर्सिएका कान
सन्तानले खुशिमा सामेल
गराएको हेर्न तर्सेका आंखा
अब न सुन्न खोज्छन् न हेर्नै।
निराशालाई आशामा बदल्न
युगौं लाग्ने यो माया
फेसबूकको भित्तामा सिमित भएछन्।
हिजो मायाले टांस्ने आमाको छाती थियो
आज आमालाई टांस्ने फेसबूक भयो
त्यो पनि बर्षको एकदिन।
सन्तानलाई माया गर्न
मिठोमसिनो खुवाउन चाडबाड
कहिल्यै कुरिनन्
तर
आमालाई माया गर्न
मातातिर्थ औंशी पो कुर्न पर्नेरहेछ
धन्य हो।