हजुरआमा र हजुरबाले नै हुर्काएका हुन सान्नानीलाई। छोराको बिहेपछी स्वर्गको बाटो कोरिन्छ अरे मातीको मुख देखेपछी। नाती नभए पनि नातिनी जन्मी दैवले जे दियो त्यसैमा रमाउनुपर्छ भन्दै ईश्वरको प्रसाद ठानेर चारहात थापे बाआमाले।घरमा दोस्रो चरणको सन्तान आगमनमा सबै खुशिले गदगद थिए।सुत्केरी बुहारीलाई खुवाउन बोको ढाले।छोरो जागिरे हुनाले सधैं घर बस्न पाउने त कुरै भएन।

भरीसक्के सुत्केरी बुहारीको सुसार गरिरहे। नातिनी सबैको आँखाको तारा थिइन्।काखैकाख पुग्थ्यो । भुंईमा सुताउनै नपर्ने। केहि दिनमा के भयो कुन्नी बुहारीको दुध आएन नातिनीलाई भैंसीको दुध खुवाउन पर्ने भयो।एउटा लैनो भैंसी थियो तै पनि नपुग्ला भनेर बाले अर्को पनि लैनो भैंसी ल्याएछन्।छोराछोरी साना थरे पनि भएर होला।न्वारन भयो सबैको आंखाको तारा भएकीले नातिनीको नामै उजेला राखे।समय बित्दै गयो छोराबुहारीको बिचमा के खटपट पर्यो कुन्नी !!बुहारीले नातिनीलाई छोड्दै हिड्न थालिन।घरमा एककिसिमको सन्नाटा हुन थाल्यो।उजेलाकी आमालाई माइतबाट फकाउंदै ल्याउंदै हरेक कुराहरू सम्झाउंदा पनि टसको मस भैनन्।

आखिर उनिहरू सम्बन्धको बिट मार्ने उद्देश्यले गाउँ पञ्चायत गयर लोग्नेलाई अर्को बिहे गरेमा उजुरबाजुर नगर्ने भनेर मन्जुरीनामा लेखाएछन्।अब त झन् न छोरी हेर्ने न घरमा बस्ने माइत मात्रै भागिरहन थालिन्।

अन्ततःउजेलाको बाबाले अर्की स्वास्नी ल्याए।कसैसंग बिबाहित थिइन अरे छोडपत्र गरेर आफ्नो भागको भांडाकुंडा समेत बोकेर माइत बसेकी। भनिन्छ-सौताका छोराछोरी मुटुका किला”नयां दुलहीलाई पनि उजेलालाई देख्नासाथ किलै महसुस हुनेरहेछ अनि रणचण्डी बनिहाल्ने। लोग्नेलाई हिरासतमा राख्न खप्पिस नयां दुलही केहीदिन घरमा बसेर लोग्नेसंगै नारियर मधेश झरिन्।जति पटक उनी घरमा जान्थिन उनको कटाक्ष उजेली माथी नै हुन्थ्यो। उजेलाको बाबा पूर्ण रूपमा स्वास्नीमुखी भैसकेका थिए।उजेला हजुरआमाको लामटो चुसेर हुर्किंदै थिइन्।

हजुरआमाको थाकेको दुध चुसेर उनको आंत के भरिन्थ्यो र?हजुरआमाले घलेक पार्दै कहिले कोखिला कहिले कन्नो(पिठ्युंलाई कन्नो भन्ने चलन छ कतिपय ठाउँमा)मा झोली पार्दै कसको मेलामा सुत्केरी आइमाई छन् त्यहाँ पुग्नुहुन्थ्यो र भन्नुहुन्थ्यो एक पेट दुध मेरी नातिनीलाई खुवाईदेउ न तिम्रो कल्याण हुनेछ।अनि कहिले घिउ कहिले चामल दिइ पठाउनुहुन्थ्यो। । त्यसैले घरमा बस्दाको दिनमा ति सुत्केरी महिला घरमै पुगेर पेट पुटुक्क हुनेगरी दुध खुवाइदिन्थिन।न त उजेलाकी आमालाई चिन्ता थियो न त बाबालाई नै।अब तोते बोली बोल्न थालेकी उजेला निरीह मुखले हजुरआमालाई नै आमा भन्न थालिन।हजुरबालाई बा।काकालाई दाई र फुपूलाई दिदी भन्ने भइन्।

समयले कसलाई पर्खन्छ र ? उजेलाकी अर्कि आमाले छोरी पाइन्।त्यसैबेला उनकी आमा अर्थात् हजुरआमाको क्यान्सरले निधन भयो।त्यसपछी शुरू भयो उजेलाका दुखका दिन।उजेलाकी अर्की आमाले छोरी जन्माएकी थिइन।उजेला पनि ५ वर्ष भैसकेकीले आफ्नी छोरीको धरालो राख्नलाई हाम्री छोरी हामी नै पाल्छम् भनेर बासंग र उजेलाका काकासंग द्वादश गर्न थालिन्।उनको नियत बुझेपनि नबुझे जस्तै गरेका उजेलाका बाबाले हं मा हं मिलाउन थाले।हजुरबाले आफ्नो सास बनाएर पालेकी नातिनी अब सौतेनी आमाको शासनमा दवित थिइन्।बाबा बिदाको दिन मात्रै घरमा आउने हुनाले आफ्नी स्वास्नीले उजेलामाथी गरेको अत्याचार देख्दैनथे। जुठा भाँडा माझ्नु घर लिप्नु,जुठो लोटाउनु ,बैनीको आची धुनु अब उजेलाको दिनचर्या थियो।

अलिकति बिराइन भने ओल्लो भित्ता देखि पल्लो भित्ता पुर्याउंथिन र रणचण्डी बन्थिन अनि मेरो मुटुको किलो भन्दै लछारपछार पार्थिन्।काका,हजुरबा,फुपूहरू हेर्न नसकेर रूंदै भित्र पस्थे।आफुले फुल जस्तै बनाएर हुर्काएकी नातिनीले सौतेनी आमाको बुहार्तन सहनु परेको देख्दा मुटु चिरीन्थ्यो तर बोल्ने साहस थिएन।साहस होस पनि कसरी ?उनीतिर हेरेपनि गाउंले उठाउन हिंड्ने आंगनमा ताण्डव नाच्ने हुन्थ्यो।

दिनहरू बिते,बर्ष बित्यो।एकदिन त अत्याचार देख्न नसकेर बाले छोरालाई भन्नुभएछ-छोरी पाल्छु भन्थिस मार्ने पो भइस्।बुहारीको कुटाईले कुन दिन मर्छे नातिनी ।भो मैलाई दे म बांचुन्जेल तेरो छहारीमा पठाउन्न।उजेलाका बाले सुनिमात्रै रहे।केही छिन पछी उजेलाको बाकहां होहल्ला सुनियो।

दिनहरू बित्दै गए सौतेनी आमाको कहरमा बांचेकी उजेलाका बाको दुर्घटनामा निधन भयो।सौतेनी आमाले अझ सास्ती दिन थालिन्।पछी त उजेला सुतेका ठाऊंमा आंफूसंग आएका मान्छेबाट आक्रमण गराउन थालिछन्।एकदिन राती नै उजेलाले घर छोडेर निस्कीन्।आखिर सौतेनी आमा पनि आमा बनेकी थिइन् तर किन निर्दयी भइन्?जवाफ कतै पाएकी छैन।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार