ब्रह्मनालमा लमतन्न पसारिएको लास
आफन्तहरुको हृदयबिदारक चीत्कार
सुनेर आत्मा जुरुक्क उठ्यो
पशुपतिलाई हेर्यो,नजिकैकी वाग्मतीलाई हेर्यो
तल हेर्यो माथि हेर्यो
उसले चिर्पटको मुलायम बिस्तरामा
मखमल खोज्यो फाइवरको सिरानी खोज्यो।

आफन्तको चीत्कार सुनेर बिव्हल भयो
म मरेको छैन म यहाँ छु चिच्यायो
तर कसैले सुनेन श्रीमतीसंग पुग्यो
छोरासंग पुग्यो अहँ सुनेनन्
हतार हतार उमाथि दाउराको चाङ बढ्यो
मुखमा दागबत्ती राखिदियो छोराले
गंगाजलले सेचन गरायो
मट्टीतेल खन्याईयो
चिरागले आगो झोसियो
उ शिथिल भयो।।

अघिसम्म मुटुफुट्ने गरि रोएको छोराले
बााँसको घाराले मिलाई मिलाई घोचिरहेछ
आत्माले धुवाँँकाे कालो मुस्लोसंगै
आकाशबाट अट्टहास लाउन थाल्यो
जीवनमा आफुले गरेका कुकृत्य सम्झ्यो
गरिबको रगत पसिना सित्तैमा पियो
चोरीचकारी गर्यो छलकपट गर्यो
अर्काका छोरीचेलीलाई सर्वाङ्ग बनायो
लुटेको ठगेको धनमा भोज गर्यो
नाबालिक छोरीमाथि मोज गर्यो
तर आज उसको लागि पृथ्वीलोकमा
सास अटाउने वायुमण्डल छैन
सुत्ने चार फुट जमिन छैन
मेरो भन्ने परिवार छैन
उ निरीह बनेर परलोकको बाटो सुध्यायो
आखिर जीवन के हो?

जीउदो हुदा कमाएका आफन्त
धनसम्पत्ति,वैभव,सुखसयल
सबै छाडेर रित्तो मुठी बाटो लाग्नु रहेछ।
कसैको चित्त के दुखाउंछौ ए मनुष्य
आखिर जानू त एकदिन सबैलाई छ
जादा बाटोखर्च लैजानु छैन
घमण्ड त्याग हे मनुष्य
घमण्ड त्याग।

देवी काफ्लेका अन्य रचनाहरु पढनुस:
आमा (कविता ) देवि काफ्ले

समाजकाे आँखा कहिले खुल्छ ?

वृद्धाश्रम र बा आमा

त्याे मेरो यात्रा स्मरण, डहरे देउराली माता दर्शन

ब्यानरका नारा (कविता)

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार