असाेज १९ काठमाडौ – मंगलबार राति देखि सक्रिय रहेको वर्षा अहिले पनि देशका प्राय:ठाउँमा जारी छ।

अहिले विभिन्न जिल्लामा सामान्य देखि पूर्ण बदली रहेको छ। जसमध्ये लुम्बिनी प्रदेशमा गएको ६ घण्टामा सबैभन्दा बढी वर्षा भएको भन्दै सावधानी हुन समेत नेपाल बाढी सुचना केन्द्रले जनाएको छ।

बुधबार बिहान ५ बजे केन्द्रले सार्वजनिक गरेको सुचना अनुसार लुम्बिनीका प्यूठान, दाङ र बाँके जिल्ला भई बहने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च संभावना रहेकाले दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टा अत्यधिक भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने हुदा खतराको संकेतकाे आसपास वा माथि सम्म पुग्न सक्ने मध्यनजर गरि तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा १२ बजे सम्म उच्च सतर्कता अपनाउन केन्द्रले भनेको छ।

नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशैभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो अर्थात विजया दशमीको दिन देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने शुक्रबार मध्यान्ह देखि मौसममा सामान्य सुधार आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार