असाेज ४ काठमाडौ – हिजोआज जताततै केवल राजनीतिको कुरा भइरहन्छ। चुनाव नजिकिँदै गर्दा रण मैदानमा कैयौँ नयाँ अनुहार देख्न पाए हुन्थ्यो भन्नेहरू थुप्रै छन्। नेपाली राजनीतिमा उनै पुराना अनुहार देखेर वाक्क दिक्क भइसकेका जनता अब त केही नयाँ अनुहार देखा पर्नुपर्छ, केही गर्न सक्ने मान्छे देखापर्नु पर्छ भन्नेमा पुगिसकेका छन्।

पछिल्लो समयमा त्यस्ता नयाँ अनुहारको खोजी पनि भइरहेको छ। नयाँ-नयाँ नामहरू पनि सुनिदै छन्। ती नयाँ अनुहार कुनै अर्कै ग्रहबाट आउने पक्कै हैनन्। त्यस्ता अनुहार यतैकतै छन्। जोसँग विवेक छ, अनुभव छ, जोस जाँगर र विकास निर्माणको खाका छ। अन्याय अत्याचारका विरुद्ध तत्काल कदम चाल्न सक्ने सोच र क्षमता छ। जसमध्येका एक पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि हुन्।

उनले आफ्नो नाम घोषण गरिसकेका नभए तापनि बजारमा नाम सुनिन थालेको छ। कतिपयले उनले विगतमा आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा गरेका केही असल कर्महरु सम्झिरहेका छन्।

असल कर्म गर्दै गएपछि भाग्य आफैं पछि लागेर आउँछ, देशको मुहार फेर्न सकिन्छ भन्ने मान्यता बोकेका खनाल पछिल्लो समय गुमनाम छन्। त्यो एक समय थियो, जतिबेला सर्वेन्द्र खनालको नाम मात्रले पनि तरङ्ग पैदा गरिरहेको हुन्थ्यो।

इन्सपेक्टरबाट प्रहरी सेवामा जागिर सुरु गरेका खनाल आईजीपी बनेर सेवा निवृत्त भए। निकै नै आँटिलोपन भएका उनी कसैसँग पनि डराएनन्। इमानदारी, न्यायप्रेमी बनेर गोरेटोमा पाइला सार्न अघि सरेका उनी जागिरे जीवनको सुरुवातिमै विकृति, विसङ्गती र अन्याय अत्याचारका विरुद्धमा अघि बढ्न थाले।

यस्तो काम गर्दा पनि स्यावासी पाउनु त कताकता उल्टै उनको सरुवा हुन थाल्यो। जुन तस्कर, गुण्डा समातेर ठेगान लगाएवापतको पुरस्कार थियो। छोटो समयमै एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुँदै गए। जसले उनलाई नेपालका विभिन्न क्षेत्र र त्यहाँका बासिन्दाहरूको बारेमा अनुभव बटुल्न सहयोग नै पुग्यो।

विवेक र खुबीले कार्य क्षेत्रमा निकै सजगताका साथ अघि बढिरहेका खनालले थाहा पाइसकेका थिए- आफ्ना पर्दा कार्वाही नहोस् अरुका पर्दा कार्वाही होस् भन्ने यो देशका विभिन्न क्षेत्रमा रहेका माथिल्लो तहमा पुगेकाहरूको प्रवृत्ति। जो घाम जत्तिकै छर्लङ्ग छ। यस विषयमा धेरै भनिरहनु पर्दैन।

विगतमा तिनै खनाल पेशाप्रति समर्पण भावका साथ एक्लो वृहस्पति बनेर हिँडिरहे। अरुमा समेत जोस जाँगर र ऊर्जा बढाउन तल्लीन भइरहे। दसैंताका बसपार्क गएर ड्राइभरको घाँटीमा फूलको माला लगाउँदै राम्ररी चलाउनु होला है भने। स्यावासी दिँदै हौस्याए। त्यो संयोग थियो वा चालकहरूले उनको कुरालाई गम्भीरतापूर्वक मनन गरे थाहा छैन। तर त्यो वर्ष दसैं तिहारमा पूर्व-पश्चिम राजमार्गमा कहिँकतै दुर्घटना भएको समाचार आएन।

२०४६ सालमा जागिर सुरु गरेका उनले प्रजातन्त्रदेखि गणतन्त्रसम्मका थुप्रै गतिविधिहरूको राम्रोसँग अवलोकन गर्न पाए। ठुलो अनुभव बटुले। कहाँ के छ, कुन क्षेत्रमा के कमजोरी छ र त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ। जागिरका क्रममा उनी जति ठाउँ पुगे त्यहाँको जनसमुदायलाई सत्कर्ममा लाग्न प्रेरित गर्दै गए।

नारायणीमा एसपी हुँदा भोजपुरी भाषा सिके। त्यहाँ बस्दा प्रायजसो कार्यक्रममा बाल विवाह र दाइजो प्रथाका विरुद्ध भोजपुरी भाषामै भाषण गर्न थाले। छोरी जन्मिने बित्तिकै दिमागमा दाइजो बोक्ने तराईबासीमा थोरै मात्र भएपनि चेतनाको स्तर बढाउन सफल भए। दाइजो दिन नसक्ने हुँदा, आफ्ना आवश्यकता पुरा गर्न नसक्दा मान्छे पैसाको लागि अपराधिक गतिविधितिर मन डोर्याउन थाल्छ भन्ने मनोविज्ञान राम्रैसँग बुझेका थिए उनले। त्यसैले त उनी बारम्बार भन्ने गर्थे, ‘सर्वप्रथम जनमानसको चेतनास्तर बढाउने र आयआर्जनका उपायहरू खोज्ने तर्फ राज्यले ध्यान पुर्याउनु जरुरी छ।’

शिक्षा, स्वास्थ्य जस्ता आवश्यक कुराहरू पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने थुप्रै छन्। तर कार्यान्वयनको पाटो हेर्दा निकै नै दयनीय देखिन्छ। यहाँ ठेकेदारहरू सदनमा पुग्छन्। अनुभव र क्षमता भएका योग्य व्यक्तिहरू सधै पछाडि पारिन्छन्।

साँच्चिकै समाज परिवर्तनको मार्ग अपनाउने हो भने समाजकै हितका लागि काम गर्न कतिपय ठाउँमा क्षेत्राधिकारभित्र नपर्ने कामसमेत सजिलैसँग गर्न सकिन्छ। तर निस्वार्थ र सामाजिक भावनाले विवेकपूर्ण ढंगले काम गर्नुपर्ने हुन्छ। जसको एउटा उदाहरण हुन्, उनी।

वीरगन्ज गण्डकदेखि गडिमाई मन्दिरसम्म बिहानपख हेर्नै नहुने हुन्थ्यो रे। खुल्ला ठाउँमा दिशा गर्नेहरू सयकडौं देखिन्थे। उनी उक्त क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने योजनासहित कस्सिए। तर त्यो कार्य पुलिसको क्षेत्राधिकारभित्र पर्दैन थियो। सुरुमा त्यसरी खुल्ला क्षेत्रमा दिशा गर्नेलाई सम्झाउन थाले। नमानेपछि उनले ठेगान लगाएरै छोडे। आफ्नो क्षेत्राधिकारभित्र नपरेको काममा उनले उपाय निकाले। त्यो उपाय थियो कसैले अश्लिल अङ्ग प्रदर्शन गर्दा पुलिसलाई थुन्ने अधिकार छ भन्ने। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनी नयाँ-नयाँ उपाय निकाल्ने मध्येमा पर्दथे। ती उपाय व्यक्तिगत स्वार्थका लागि नभएर समाजकै हितका लागि हुन्थे।

खनाल प्रहरी महानिरीक्षक भएपछि संगठनमा थाती रहेका दर्जनौ काम गरे।  विभिन्न बाधा र अवरोधका बावजुत उनले असल कार्यहरूको थालनी गरे। नेपाल प्रहरीभित्र प्रशिक्षकको संख्या थपेर ३१ सय पुर्याए। एक दर्जन क्षेत्रमा बालबिवाह, साइबर अपराध, सुरक्षालगायतका कोर्स निर्माण गर्न लगाए। हरेक विद्यालय र कलेजमा करिव ८० लाखलाई तालिम दिए। ती कोर्सहरू ठाउँठाउँमा पुर्याउन त्रिविलगायत ७५३ वटै स्थानीय सरकारसँग एमओई गरे।

नेपाल प्रहरीको इतिहासमा एक असल निष्ठावान, देश र जनताका पक्षमा न्यायिक दृष्टि पुर्याएर काम गर्ने मध्येका पक्कै थिए। देशको अधिकांश क्षेत्रमा गलत राजनैतिक प्रभाव परिरहेको कुरा सर्वविदितै छ। यस्तो परिवेशमा कसैले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन नहुन सक्छ।

पूर्ण सफलता नमिल्न सक्छ। तर पनि उनले गरेका काम प्रशंसनीय थिए। महानगरीय अपराध महाशाखामा कार्यरत हुँदा उनले नेपालको खेल क्षेत्रमा हुने म्याच फिक्सिङको भण्डाफोर गरे। विभिन्न पदमा रहेर तराईका जिल्लामा काम गर्दा उनले तराई क्षेत्रमा हुने तस्करीलाई निस्तेज पारे। त्यतिखे उनको नाम मात्र सुन्दा अपराधी, तस्कर र गुण्डाहरू थरथरी काँप्ने गर्थे। सीमा क्षेत्रका अपराधीहरू भागेर भारततिर पुग्थे।  उनी आईजीपी हुँदा मात्रै २९ सय फरार अपराधी समातिए। नेपाल प्रहरीमा निकै लामो समयदेखि जाम गरेको बढुवा प्रक्रियालाई अघि बढाए। कम्युनिटी पुलिस पाटनरसिप कार्यक्रम चलाए।

समुदायका जुनसुकै तह र तप्काका मानिससँग जोडिएको हुन्छ, पुलिस प्रसासन। उसो त प्रहरी प्रशासन पनि राजनैतिक प्रभावबाट टाढा रहन सकेको छैन। विश्वमै प्रहरी संगठनको सुरुवातीको इतिहास अध्ययन गर्ने हो भने कुनै बस्तीका तागतिला केही युवाहरुको समूहले बस्तीको सुरक्षार्थ अपनाएको मार्ग थियो। जहाँ एक जना समूहको नाइके हुन्थे।

विस्तारै गाउँबस्तीमा बोलबाला भएका समाजको उच्च ओहदाका मानिएकाले आफू अनुकूलको मान्छेलाई उक्त समूहको नाइके बनाउन थाले। जुन एक किसिमको राजनीति नै थियो। तर त्यो समूह र समूहका नाइकेको उद्देश्य भन्नु केवल सामाजिक सुरक्षा थियो। उक्त समूह समाजसँगै सहकार्य गरिरहेको हुन्थ्यो। त्यसकारण प्रहरीले सेवा निवृत्त भइसकेपछि पनि राजनीतिमा आउनु हुँदैन भन्नु आवश्यक देखिँदैन। अझै भन्नुपर्दा तिनैले राम्ररी समाज बुझेका हुन्छन्। समाज र राष्ट्रको समुन्नत विकासमा लागि हरेक सेक्टरका अनुभवी विज्ञहरुका साथै युवा पिँढीको आश्यकता खड्किएकै देखिन्छ।

पछिल्लो समयमा तिनै जोस जाँगर र उपायका साथ अघि बढेर समाज र देश विकासको खाका कोर्न सक्ने अनुभवी र प्रभावशाली व्यक्तित्वहरुको पनि उत्तिकै आवश्यकता महसुस भइरहेको छ। वृद्ध गोरुले गाई रुघेझैं रुँघिराख्ने नभएर एक पटक इन्ट्रिगरी नीति निर्माण र कार्यान्वयनमा अनुकरणीय काम गरेर भावी पुस्ताका लागि प्रेरणाको श्रोत बन्नसक्ने नेता नै अबको आवश्यकता हो। जुन आवश्यकतालाई मनन् गरी खनाल जस्ता गर्न सक्ने केही अनुहारहरु अबको राजनीतिमा देखा पर्नुपर्ने हुन्छ। उनको राजनीतिमा आउने सम्भावना बढ्दै गएको गाइँगुइँ पनि सुनिँदैछ। आशा गरौं उनी र उनीजस्ता  केही अनुहार देखिने छन् यो पटकको निर्वाचनमा। शुभकामना छ उनलाई।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार