असाेज १ पोखरा – लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् ।

गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ  बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकाे अभियानका प्रवक्ता हरि कार्कीले बताए।

यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, कास्की ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट  महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की लगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

अभियानका प्रवक्ता कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताए । ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरुलाई हेरि सक्नु भएको छ । अब हामीलाई हेर्नुस् ।’

अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने बताए । ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं हामी । देश भरको माहोल हेर्दा हामी पूराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियान्ता साथीहरुले चाहेको खण्डमा हामी संगठनको रुप दिन पनि सक्छौं,’ उनले भने।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार