आइमाई
हो म आइमाई हो
त्यसैले त तिमी दोस्रो दर्जामा राख्छौ
हो म आइमाई हो
त्यसैले त तिम्रा गिद्दे नजरको सामना गर्नुपर्छ
तिमीलाई हेर्दा मेरा नजरले
तिम्रो कटाक्ष सहनु पर्छ
भन्छौ मसंग लट्ठिन खोजी
तिमीलाई नहेर्दा नबोल्दा
भन्छौ घमण्डले चुलिएकी।

ती तिम्रा कटुवचनले बाण हान्छ।
कसैको साथमा हिंडौं
नखर्माउली लठारिएर हिंडेकी छे
एक्लै हिंडौं चाला ठिक छैन
अनि लुगा हेरिन्छ चरित्र मापन हुन्छ
मेरो बस्तीमा चियाईन्छ
मेरो आवाजलाई सुनिन्छ
कर्कशाको संज्ञा दिइन्छ
नम्र हुंदा निम्ता ठानिन्छ।

हो म आइमाई हो
मलाई सधैं आँगनको
तुलसी हुनुपर्छ
बांबरी बन्नु हुदैन
किनकी मेरो बास्नामा
चरित्रहिनताको रस मिसाइन्छ
म पोखरी बनिरहनु पर्छ
झरना भईदिएं भने उत्ताउलीको
छिटाले हान्छ।
तिम्रा क्षुब्ध नजरमा म के बन्नु पर्ने हो?
म फूल बने कांडाले हेर्छौ
म क्षितिज बने डांडाले छेक्छौ
म जुन बने अौशीले ढाकिदिन्छौ
म नारी बने दोस्रो दर्जाको प्राणी भन्छौ।
भन अब म के बनौं??

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार