कात्तिक २१ गोरखा – २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दुलाई लिएर गोरखाका धार्चे गाउपालिका र बारपाक सुलिकाेट गाउपालिका बिच विवाद चुलिएको छ। गत शनिबार धार्चे गाउँपालिकाले चुङकङमा ‘इपिसेन्टर’ लेखिएको बोर्ड राखेसँगै विवादको सुरुवात भएको हो ।

धार्चे गाउँपालिकाले पटकपटक अन्य क्षेत्रमा पनि हस्तक्षेप गर्दै आएकाे बारपाकका स्थानियकाे भनाइ छ। पर्यटन पदमार्ग निर्माण तथा सामुदायिक वन क्षेत्रभित्र ढुंगामुढा उत्खनन गरेकाे विषयमा छलफल गर्न यस अघि आग्रह गरेपनि धार्चे गाउपालिकाले कुनै जवाल नदिएको बताइएको छ। यसरी सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गरिरहेकाेे र अहिले आएर पाँच वर्षपछि इपिसेन्टरका विषयमा तोडमोड गर्न खाेजेकाे भन्दै दबाब स्वरुप दुई पालिका बिचकाे नाका बन्द गरिएको बारपाक सुलिकोट गाउँपालिका–२ का अध्यक्ष लालबहादुर गुरुङलेे बताए।

चुङकङमा ‘इपिसेन्टर’ बोर्ड राखेपछि कात्तिक १६ मा बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ति निकालेर इपिसेन्टर तोडमोड नगर्न भनेको छ । ‘२०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाक रहेको राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित सत्यलाई कसैले तोडमोड गरेर हुने कुरा छैन,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । बारपाक नै इपिसेन्टर स्थापित भइसकेकाले अहिले विवाद हुनु आवश्यक नभएको उनको भनाइ छ । ‘धार्चेमा इपिसेन्टर लेखिएको बोर्ड नै खारेज गर्नुपर्छ । अन्य विषयमा छलफलबाट सहजीकरण गर्छौं,’ उनले भने ।

के भन्छ धार्चे गाउँपालिका ?

इपिसेन्टर भ्यु प्वाइन्ट वा इपिसेन्टर पार्कका रूपमा चुङकङलाई चिनाउन लागि बाेर्ड राखिएको गाउँपालिकाले प्रस्ट्याएको छ । इपिसेन्टर लेखिएको धार्चेको चुङकङ भीरकोट २०७२ को भूकम्पले ८० मिटर टाढा धसिएको पनि स्थानियकाे आधारमा गाउपालिकाले दाबि गरेकाे छ। इपिसेन्टर धार्चे नै नभनेकाे र चुङकङको इपिसेन्टर लेखिएको बोर्डमा भ्यु प्वाइन्ट थप्ने गरि काम भइरहेको तथा भूकम्पसँग जोडेर पर्यटक ल्याउन एउटा गहनाका रूपमा परिचित बनाउन खोजिएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार