कात्तिक १५ कञ्चनपुर – एकै उमेर समुहका किशोर र किशोरी एकैठाउमा मृत भेटिएका छन। कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज शनिबार बिहान उक्त दुईजनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी दुबै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर थिए । उनीहरु प्रेम सम्बन्धमा पनि बाधिएकाे हुन सक्ने प्रहरीको अनुमान छ।

बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए। शव सडिसकेेेेेकाे हुदा केही दिन अघिनै घटना घटेकाे बताइएको छ।

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार