कात्तिक ९ काठमाडौं – आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवीभागवत एवं देवी स्तोत्र पाठ गरिनुका साथै महानवमी दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। भने महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ।

ध्यान,स्ताेत्र पाठ कसरी गर्ने ?

ज्याेतिष दुर्गा भण्डारीका अनुसार आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ स्वरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय विधि विधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् ।

भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएकोछ । यस देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात हुनुभयो । हामीले माताको पाउमा उपासना गर्न जारी राख्नु पर्छ र स्थिर रहनु पर्छ । यस देवीको स्मरण, ध्यान, आराधनाले हामीलाई यस संसारको जोखिमलाई महसुस गराउँदछ र हामीलाई अमृत पदमा पुर्याउँछ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्नेछन् ।

“ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गर्नुपर्दछ । भगवान शंकर र ब्रह्मा जीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्दछ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।

ध्यानः
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ।।
स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
शख, चक्र, गदा, पदम, धरां सिद्धीदात्री भजेम् ।।
पटाम्बर, परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदना पल्लवाधरां कातं कपोला पीनपयोधराम् ।
कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ।।

स्तोत्र पाठः
कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोऽस्तुते ।।
पटाम्बर परिधानां नानालंकारं भूषिता ।
नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोऽस्तुते।।
परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तुते ।।
विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता।
विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोऽस्तुते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तुते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोऽस्तुते ।।

यसरी सिद्धिदात्री देवीको ध्यान,स्तोत्र तथा पूजा गर्नाले सम्पूर्ण मानव जातीले सिद्धि प्राप्त गर्दछन् । सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा तथा आराधाना गरेमा पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,घरपरिवारमा शुख शान्ति प्राप्त हुने, दुःख कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेकोछ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार