जेठ २६ बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश अन्तर्गतका विभिन्न सात जिल्लाका जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ ।

बुधबार प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा बसेको संसदीय समितिको बैठकले नवलपरासी (पश्चिम)को प्रमुखमा बालिन्द्र बिक्रम शाही, कपिलवस्तु प्रमुखमा ज्ञानबहादुर कार्की, गुल्मी प्रमुखमा दाेर्णबहादुर खत्री, पाल्पाको प्रमुखमा यमलाल तिमिल्सेना, दाङ प्रमुखमा नित्यानन्द शर्मा, दाङ्गको उपप्रमुखमा चेतना चौधरी, बाँके प्रमुखमा ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुखमा सीता कार्की, बर्दियाको प्रमुखमा सुर्यबहादुर विष्ट र उपप्रमुखमा अमिता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय समितिको बैठकबाट कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२(६) बमोजिम जिल्ला समन्वय समितिको निर्वाचन- २०७९ को सन्दर्भमा कांग्रेसको विभिन्न जिल्ला समितिबाट सिफारिस भईआएका मध्येबाट उम्मेदवार चयन गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए।

यी जिल्ला मध्ये दाङकाे प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन। एमालेले कुनै पदमा पनि उम्मेदवार नदिएपछि निर्वाचित भएका हुन। गठबन्धनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली काङ्ग्रेसकी चेतना चाैधरी निर्वाचित भएकी हुन।

प्रमुख शर्मा स्थानीय तहकाे निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएका थिए भने उपप्रमुख चौधरी बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यस्तै उता बाँकेमा पनि कांग्रेस उम्मेदवार उपप्रमुख निर्विरोध निर्वाचित भएकि छन। उपप्रमुखमा नेपाली कांग्रेसकी सीता कार्कीको मात्र उम्मेदवारी दर्ता भएपछि निर्विरोध निर्वाचित भएकि हुन। कार्की कोहलपुर ५ की हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार