जेठ २२ सल्यान – राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट देखि दाङ तुलसीपुर सडकखण्डमा ट्रिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
राेल्पाकाे त्रिवेणी गाउँपालिका -३ बुढागाउँ स्थित कोइलामा संचालित राेल्पा सिमेन्ट प्रालिले सम्झौता अनुसार काम नगरि स्थानीयकाे मागलाई समेत बेवास्ता गरि मनपरि रुपमा अत्यधिक ढुवानी कार्य गर्दा स्थानीयहरुलाई प्रत्यक्ष रुपमा असर पर्ने गरि लापरबाही गर्न थालेपछि सल्यानकाे कपुरकोट गाउँपालिकाले विगत देखिकाे समस्याको रुपमा रहेकाे उक्त प्रालिकाे मनपरि र लापरबाहीलाई नियन्त्रण गर्न अन्तिम विकल्पको रुपमा ट्रिपर सञ्चालनमा नै रोक लगाउने निर्णय गरेको हो।
कपुरकोट गाउँपालिकाको १ देखि ६ नम्बर वडा पर्ने उक्त क्षेत्रमा रोल्पा सिमेन्ट प्रालिका अत्याधिक भारवहन ट्रिपर दैनिक मनपरि रुपमा चल्दै आएकाे र स्थानीयले छलफलका पटकपटक प्रालिलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछि दिनप्रतिदिन स्थानीयकाे दैनिकी समेत प्रभावित संगै सडकखण्ड जीर्ण हुँदै गएपछि विगत देखिकाे अवस्था र स्थानीयको मागलाई मध्यनजर गर्दै नागरिकको जीउधन र प्राकृतिक दोहनलाई रोक्न अत्याधिक भारवहन सहित गुड्ने ट्रिपर सञ्चालनमा प्रतिबन्ध लगाउने गरि प्रथम कार्यपालिका बैठकबाट निर्णय गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।
यहि सडक खण्ड भएर अहिले दाङ तुलसीपुर देखि राेल्पाकाे पश्चिम क्षेत्र जाेडने छाेटाे मार्गकाे रुपमा रहेकाे कपुरकाेट-काेइला सडकखण्ड संचालनमा आएपछि सवारीकाे चाप बढिरहेका बेला टिपर आतंक बढदाे भएपछि स्थानीयहरु झन मारमा परेका हुन।
याे समस्या अहिलेकाे नयाँ भने हाेइन। अत्याधिक भारवहनका ट्रिपरले सडक जीर्ण बनाएको तथा मानवीय क्षति समेत भइरहेको भन्दै स्थानीयले पटकपटक ट्रिपर संचालनमा व्यवस्थापन गर्न माग गर्दै यसअघिका वर्ष देखि नै वर्षेनी विरोध गर्दै आइरहेका छन।
स्थानीयहरुले प्रालि विरुद्ध २०७७ सालमा नै सङघर्ष समिति बनाएर उत्पादनको नाममा ढुंगा उत्खनन गरेर बाहिर पठाएकाले तत्काल रोक्नुपर्ने, धुलो धुवा रोक्नुपर्ने, टिपरले सडकमा बनाएका खाल्डाखुल्डी मर्मत गर्नुपर्ने, उत्खनन गरेकाे ठाउँमा वृक्षाराेपन गर्नुपर्ने, एक घर एक रोजगार कार्यक्रम पुरा गर्नुपर्ने लगाएतका माग सहित राेल्पाकाे त्रिवेणी गाउँपालिका मार्फत खानी विभाग, जिल्ला प्रशासन कार्यालय राेल्पा र सल्यान, प्रदेश सरकार लुम्बिनी र कर्णाली सहित केन्द्र सरकारलाई समेत ध्यानाकर्षण गराइसकेका छन।
स्थानीयले ध्यानाकर्षण गराएसंगै २०७७ पौष १० गते सल्यानका तत्कालीन प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ सहितकाे टिमले उक्त क्षेत्रकाे स्थलगत अनुगमन समेत गरेकाे थियाे। संचालित सिमेन्ट कम्पनी राेल्पामा परेपनि याे विषयमा भने राेल्पा प्रशासनले त्यति चासाे दिएकाे पाइदैन।
उक्त प्रालि रहेको स्थान कोइलामै चुनढुगां प्रशाेधन गरेर सिमेन्ट उत्पादन गर्ने उद्देश्यले २०६६ मा स्थापना भई दैनिक २ हजार ५०० बोरी सिमेन्ट उत्पादन गर्दै आएको राेल्पा सिमेन्टले त्यहाँ सिमेन्ट उत्पादनमा भन्दा चुनढुगां उत्खनन गरि निकासी गरेर सिमेन्ट उत्पादनकाे लागि दाङकाे अमेलियामा संकलन गर्ने र अर्घाखाँचीमा संचालित अग्नी सिमेन्टसंग किनबेच गर्ने गरेकाे समेत खुलेकाे छ।