जेठ १० सल्यान – बागचौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनकराज गौतम र उपप्रमुख सुम्निमा डि.सी.ले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका छन ।

सोमबार बागचौर नगरपालिकाको कार्यालयमा भएको पदभार कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख गौतमले तत्काल नगरपालिकाको आफ्नै भवनमा आवश्यक प्रक्रिया पूरा गरि कार्यालय स्थानान्तरण गर्ने, नगरपालिका भवन परिसरमा सेवाग्राही मैत्री शौचालय निर्माण, प्रतिक्षालय निर्माण र सहायता कक्ष निर्माण गर्ने र नगर भित्रका गर्भवती महिलाहरुलाई प्रसुति जटिलता भई प्रसुति केन्द्रबाट रिफर भएअनुसार सल्यान जिल्ला अस्पतालसम्म जानुपर्ने भएमा निशुल्क एम्बुलेन्स वा निशुल्क यातायातको व्यवस्थामा पहिलो प्राथमिकता दिने बताएका थिए । साथै आफुले चुनावमा प्रतिबद्धता गरेका सम्पुर्ण कामहरु क्रमागत रुपमा निरन्तर गरिने बताए ।

त्यसैगरी उपप्रमुख सुम्निमा डि.सी.(वली) ले बोल्दै बागचौर नगरपालिकाबाट हाल लिईरहेको शुल्क, कर, दस्तुरमा ५० प्रतिशत व्यवस्था गर्ने, सरकारी विद्यालय (१-१०) मा भर्ना शुल्क बापत शुल्क नलिने व्यवस्था गर्ने र नगर भित्रका गर्भवती महिलाहरुलाई प्रसुति जटिलता भई प्रसुति केन्द्रबाट रिफर भएअनुसार सल्यान जिल्ला अस्पतालसम्म जानुपर्ने भएमा निशुल्क एम्बुलेन्स वा निशुल्क यातायातको व्यवस्था गर्ने बताईन । उनले आफुहरुले कसैलाई काखापाखा नगरि समान ढंगबाट काम गर्ने बताइन ।

निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकीले आफ्ना भनाइहरु राख्दै  सदैव जनताको निम्ति लागिपर्न र आफुले पनि हरेक कदममा सहयोग गर्ने बताएका छन। यस्तै निवर्तमान उप्रमुख कल्पना पुनले कार्यालयमा मितव्यी तरिकाले सेवा प्रवाहका लागि शुभकामना दिदै फरक फरक पार्टीबाट निर्वाचित भए पनि एकतावद्व तरिकाले नगरपालिका संचालन गर्न आग्रह गरेकि छन ।

नगरपालिकाका कर्मचारीहरुले नवनिर्वाचित नगर प्रमुख गौतम र उप प्रमुख डि.सीलाई स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रमको संचालन कार्यालयका रोजगार शाखा प्रमुख नवराज डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार