असाेज २९ काठमाडौ – दशैकाे दिनमा नै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे परिवारमा शाेक परेकाे छ। नेकपाका पूर्वपोलिटब्युरो तथा वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्राेतले बताएको छ। वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

वि.स २०१७ साल फागुनमा रोल्पाको परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका नेता वीरजङ्गले लामाे राजनितीक सङघर्ष गरेका छन। विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका वीरजङ्गलाई जेलभित्रै मुटुको रोगकाे लक्षण देखएकाे थियाे । प्रतिबन्धको समयमा हिरासतभित्रै कोरोना सङ्क्रमण समेत भएका उनलाई उपचारकाेे लागि भारत दिल्लीस्थित म्याक्स अस्पतालमा लगिएको थियाे।

नेता वीरजङ्गको शव दिल्लीस्थित अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, आफन्तहरु र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार