असाेज २६ मुगु – मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा ३९ जना सवार रहेको बस दुर्घटना हुदा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटनामा परेकाे हाे। दुर्घटनास्थलमा अहिले सम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ। सबैकाे सनाखत भइनसकेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। ती मध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएकाे हाे। बसमा ३९ जना सवार रहेका थिए।

मृत्यु हुने अधिकांश काठमाडौं,नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विद्यार्थी छन्। दशैँ मनाउँन घर जाने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन्। उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।

ज्यान गुमाउने सबै स्थानीय रहेका छन। आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेकाले आफन्तहरूको भीडले गर्दा सनाखत गर्न गाह्रो भएकाे प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार