असाेज २४ रुपन्देही – मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीय बिच झडप हुदा चार सर्वसाधारणको प्रहरीकाे गाेली लागि मृत्यु भएको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो। गोली लागेर घाइते भएकामध्ये चार जनालाई अस्पताल लिएका मध्ये चार जनाकै मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ।

तीन जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँचपाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीले गएराति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएपछि प्रहरीले बल प्रयाेग गरेपछि स्थिति तनावग्रस्त भएकाे हाे। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार