बिहानै बिन्दबासिनीको दर्शन गरिसके पछि हामी सराङकोटतिर लाग्यौं। सराङकोट पुग्दा ११ बजिसकेकोले सुर्योेदयको अनुपम दृश्यावलोकन गर्ने मन भोकै रह्योे। तर पनि हामीलाई पुरै पोखराको अनुपम दृश्यापानले केही राहत दियो। माथि हिमालका टाकुराबाट बादलले घुम्टो झिक्नै मानेन। लालायित आँखाले फेवातालको निर्मल जलसंग मितेरी लाउंदै वरपरका सुन्दर हरियाली दृश्यसंग खेल्ने मौका गुमाएनन्।

हामी चारजना थियौं। संयोगवस हामी तीन दिदीबहिनी राता कपडामा थियौं। भिनाजुले घरिघरि मजाकको क्षेप्यास्त्र छोडिरहनुहुन्थ्यो लालकुमारीहरु भनेर। आकाशमा उडेका प्याराग्लाइडिङ्का पाताहरु फहराईरहेका थिए। त्यसैलाई हेरेर हामी पनि जिस्किदियौं भिनाजु यी लालकुमारीहरु ती पाताका मुनि बसेर उड्दा आकाश कस्तो देखियला कल्पना गरेर भन्नू न भन्दै।
जस्तो प्रकृति थियो त्यस्तै निर्मल हाँसो हाँस्दै भिनाजुले भन्नुभयो ओहो! पोखराको प्राकृतिक सुन्दरता जित्ने परिहरु हुन्थ्यौ। आहा आफ्नो प्रशंसा सुनेर बादलुको घुम्टोसंगै मुस्कुराउंदै चियाएकी माछापुच्छ्रे जस्तै हांस्यौ। फोटो सेसन राम्रै चल्यो।केहिबेरको बसाई पछि हामी ओरालो लाग्ने निष्कर्षमा पुग्यौं।माछापुच्छ्रे हामीलाई देखेर धेरै नै लजाईन,अन्नपूर्ण पनि ठुस्स परिरहिन्। बादलको घुम्टो उघार्न नमाने पछि फेरि उनको मुहार हेर्न शुभदिनमा आउने वाचा गर्दै झर्यौं।
पोखरा पुगेपछि फेवातालको डुङ्गा सयर र तालबराहको मन्दिर दर्शन नभए त यात्रा अपुरै रहन्छ। फेवासंगै पिरतीका गित गुनगुनाउंदै उनको र हाम्रो माया कसिलो पारिदिने वरदान माग्न तालबराहीको मन्दिर पस्यौं। अचम्म लाग्दो छ तालबराहको बासस्थान। चारैतिर त्यति गहिरो ताल बिचमा तालबराह बिराजमान। त्यहाका माछाले एकछिन त सबैलाई भुलभुलैयामा पारिदिन्छन्।
बराह दर्शन पछि हामी पेटपूजा गर्न लेकसाइडको एउटा होटल छिर्यौं। खाना खाईसकेपछि हामी संग्रहालय तिर लाग्यौं। संग्रहालय पुरै हाम्रो अर्गानिक चलनचल्तीका सामान,हाम्रो संस्कृतिको जिउंदो इतिहास देखि लियर हिमाल आरोही,चौंरी देखि लिएर सम्पूर्ण हिमाल र त्यहाका विशेषताले भरिपूर्ण छ।त्यसपछि हामी चमेरे गुफा र डेभिडफल्स पनि पुगेर दमौली फर्क्यौं। समग्रमा पोखरा घुमाई मानसपटलमा कैद गरेका थियौं।थकानका कारण खाना खाएपछि निद्रादेवीको काखमा पर्यौं।अनिता र प्रतिक्षा पलङमा खुब मस्त निदाएका थिए मैले उठेर सिरक तानेर ल्याएं। एकछिन पछि त जाडोले ठिहिरै परेछन् जर्याकजुरुक उठे। मुर्छा परिपरि हांस्यौ। भोलिको लागि ठाउँ तय गर्नु थियो। हल्ला गर्दा भिनाजुलाई डिष्टर्ब हुन्छ कि भन्ने डर लागेको थियो भिनाजु भने निदाउनै सक्नु भएनछ।
भिनाजुका कुरा सुन्दा छांगाबाट खसेको,धर्ती भासिएको अनुभूत भयो। हामीले सोंचेका हुन्छौं ठूलो पदको जागिरे अति ,निर्दयी,अब्यावहारिक,रुष्ट,घमण्डी हुन्छन् भनेर। त्यसको ठिक विपरित थियो। भरत भिनाजुको यो व्यवहारले। उहाँ तनहुको सिडियो साब। बेलुका खान खाएर सुतेपछि करिब १०/११ बजेकाे समयमा  भानु नगरबाट फोन आएछ। भानुको माथि एउटा गाउँमा ११ बर्षिय बालकलाई बाघले मारेछ। हामी बोल्न सकेनौं। भिनाजुले आज हामी त्यहाँ जानुपर्छ भन्नुभयो। तुरुन्तै तयार भयर भानुतिर लाग्यौं। आबुखैरेनीबाट ओमकुमारी बैनी पनि हामीसंगै जानुभयो। ८ बजे हामी पुगिसकेका थियौं।गाडीबाट झर्दा मुटु चल्न छाडेजस्तो भैसकेको थियो। साँझ खाना खाने बेला हात धुन बाहिर निस्केको बाबुलाइ एक्कासी बाघले लतारेको रहेछ। हामी जांँदासम्म उसको चप्पल बाहिर जहाँकोतहि थियो। भिडभाड धेरै नै थियो। बाबुलाई हस्पिटल राती नै पुर्याईएको थियो।
गोरखा स्थाई घर भएको बाबू मामाघरमा बसेको रहेछ। घर ७२ सालको भूकम्पले भत्काएपछि मामाघरमा रहेछन्। घरका मान्छेको हालत देख्दा छाती चिरिन्थ्यो। स्थानिय निकाय,प्रहरी प्रशासन,वनविभाग र स्थानियसंग छलफल गरि सिडियो श्री भरत शर्माबाट केही राहत स्वरुप पचास हजार हस्तान्तरण गर्नुभयो। सान्त्वना र अब गर्नुपर्ने प्रकृयाका लागि वचन दिएर हामी फर्क्यौं। गाडि भित्रको वातावरण सुनसान थियो। बोल्ने मन नै थियन। आबुखैरेनी पुगेपछि हामी बन्दिपुर जाने निर्णय गर्यौं। मनमा एक किसिमको कहिल्यै खाटा नबस्ने घाउ बनेको थियो। हामी सहज परिस्थितिमा फर्कने कोसिस गर्दै गयौं। १२ बजेतिर हामी पहाडकी रानी बन्दिपुरको काखमा पुग्यौं। त्यहा भरत भिनाजुले केही ब्यक्तिहरुसंग धेटघाट गर्नुभयो। टुंडिखेल गयौं जहाबाट तनहुका धेरै ठाउँ हरुको दृश्यावलोकन गर्न सहज हुन्छ।
आहा! बन्दीपुरलाई त्यसै पहाडकी रानी भनिएको हैन रहेछ। एकैछिनको बसाइँमा पनि स्वर्गीय आनन्द लिनुछ भने एकपल्ट बन्दिपुर जानैपर्छ। केहिबेर टुंडिखेल बस्नैपर्छ र माथि टावरका रुपमा चिनिएको टाकुरीमा पुग्नै पर्छ। हुन त बन्दिपुरको यात्रा यो मेरो पहिलो चोटि होइन। म कहिल्यै पनि नअघाउने ठाउँ भनेकै बन्दिपुर हो। त्यहा गइसके पछि खड्गदेवीको दर्शन अनिवार्य नै लाग्छ मलाई। अनि हामी पद्मालयपुस्तकालयमा पनि फोटो खिच्न पुगिहाल्यौं। जुन नेपालको पहिलो पुस्तकालय पनि हो। अब भरत भिनाजुलाई अफिसबाट ताकेता आए जस्तो लाग्यो। खाना खान होटल छिर्यौं। खाना खाँदा भने कहिल्यै नबिर्सने हाँसो भयो। भिनाजुले खाना धेरै हुन्छ थोरै खाने भन्नुभाथ्यो मैले प्वाक्क बोलें ह्या भिनाजु सालीहरुको अगाडि बसेर खाएपछि तीन थाल सजिलै निल्नुहुन्छ के भनेर। अनि हाँसोको फोहरा छुट्यो। त्यसपछि हामी ओरालो लाग्यौं मेरी तल आईको गित सम्झंदै
हेर दिदै सुन्तला गेडी
टिप बैना खाइ जाउंला
बन्दिपुरे त्यो उकालीमा
नाच्दै गाउंदै गैजाउंला।
मेरा यात्राका महत्वपुर्ण ब्यक्ति भरत शर्मा,नारायणी शर्मा,अनिता पोख्रेल,ओमकुमारी पौडेल प्रति मीठो सम्झना।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार