जन्मदिनको अवसरमा अरूलाई परिचित गराउने हेतु निकै शब्दहरू खर्च गरियो । आज त रिङ्दै घुम्दै आफ्नै जन्मदिन पो आइपुगेछ । तपाईँहरूबीच (जो यो गन्थनको मन्थनमा सहभागी हुनुहुन्छ) आफूलाई चिनापर्ची गराइहालूँ भनी उपयुक्त शब्दहरू यताउता चहारेँ, केही हात लागेन । जानअनजानमा तपाईँसँग फेसबुक मित्रता गाँसिन पुगेकोले न मैले सुनाउन पाएको छु र तपाईँले सुन्न पाउनुभएको छ । यो समूहमा मलाई पूरै जान्ने पनि हुनुहुन्छ जो परिणामात्मक महत्त्वको हुनुहुन्छ । पटक्कै नजान्ने पनि हुनुहुन्छ जो परिमाणात्मक महत्त्वको हुनुहुन्छ । फेसबुकमा यो गन्थन सुन्न अवसर नपाउने अर्थात् मसँग फेसबुक मित्रता नगाँसिएका तर मलाई धेरथोर रूपमा चिन्ने पनि थुप्रै हुनुहुन्छ । उहाँहरू अहिले बाहिरी दुनियाँमा हुनुहुन्छ ।

आखिर म को हुँ ? म आफैलाई जानकारी छैन । मलाई जसले जसरी चिनेका छन् उनीहरूकै नजरले । म त्यस्तो हुँदै होइन भन्छु, तर मेरो केही लाग्दैन । उनीहरू आफ्नै तरीकाले चिन्न स्वतन्त्र छन् ।

कुन दिन आफ्नो जन्मदिन पर्छ भन्ने हेक्का हुन थालेको दशपन्ध्र वर्षजति भयो होला । त्योभन्दा पहिले न त जन्मदिनको पर्वाह थियो, न त अरू कुनै विशेष दिनहरूको । गाउँका घरहरू रातोमाटोले लिपपोत भएर चिटिक्क परेपछि र गाउँमा बोका पोलेको गन्ध फैलिएपछि दशैं आएको अनुमान गरिन्थ्यो । हजारी र गुर्दौलीको फूल फुल्न थालेपछि र चिल्ले रोटीको बासना फैलन थालेपछि तिहार आएछ भनी अड्कल हुन्थ्यो । उति बेला जन्मदिन आइपुगेको कसरी थाहा पाउनु ? मेरा अनेकौँ जन्मदिनहरू त पत्तो नपाएरै बिते ।

अहिले त एक महिना पहिलेदेखि नै फेसबुकले जन्मदिन आउँदै गरेको सङ्केत गरिहाल्छ । त्यता ध्यान पुगेन भने पनि सम्झाउने छोराछोरी छँदै छन् । निकटस्थ साथीभाइहरूलाई जुकरबर्गले नोटिफिकेशनको घण्टी बजाइदिनासाथ ती साथीभाइले मेरो फेसबुक पर्खालमा ह्याप्पी बर्थडेको रेडिमेड स्टिकर टाँसेर जन्मदिनको जनाउ दिइहाल्छन् । फेसबुक दुनियाँभित्रको कुरा गर्ने हो भने जुकरबर्गले घच्घच्याएपछि मात्र होस् खुल्ने जोकरवर्गमध्येको मान्छे हुँ म ।
यो दिनमा क-कसले सम्झिए भनेर जान्न पनि कुतकुती लाग्ने । शुभकामनाको शब्द सुन्यो कि एक छिन आयु लम्बिएजस्तै लाग्ने । उहिले बिर्सिएर होइन कि जन्मदिनको महत्त्व नै बुझिएको रहेनछ ।

जन्मदिनको महत्त्व अहिले आएर बढेकोचाँहि होइन । सम्झाउने विभिन्न विकल्पहरूको महत्त्व बढेको कारणले गर्दा हुनुपर्छ । आफूसँग फेसबुक अकाउन्ट हुनुपर्छ, अहिले जन्मदिन बिर्सन खोजे पनि बिर्सन मिल्दैन । निद्रामा मस्त रहेको लोग्नेलाई पृयषीले एकाबिहानै ह्याप्पि बर्थडे भन्दै ब्युँझाइहाल्छिन् । छोराछोरीहरूले बेलुकीपख बर्थडे केकको व्यवस्था गरिसकेका हुन्छन् । आज त तपाईँको बर्थडे रे भन्ने चकलेटाभिलाषि साथीभाइ भेटिइहाल्छन् । समष्टिमा यो दिनका उपक्रमहरूले म को हुँ भनी सोच्न बाध्य तुल्याइदिन्छन् ।
०००

यसरी जन्मदिन मनाउनैपर्ने मचाँहि हुँ को ? अरू दिनमा लाग्छ म जाबो पूर्ण ओली त हुँ, दुईचारथान आफन्तबाहेक मेरो अरू को छ र ? फगत म एक्लो छु । मेरो तलमाथि, वरिपरि कोही पनि छैन । यो संसारमा म नितान्त एक्लै आएको थिएँ । नितान्त एक्लै जानेछु ।

जब जन्मदिन आइपुग्छ , शुभकामना झर्नसक्ने आफ्ना नातागोताको लेखाजोखा गर्न थाल्छु । तिनीहरूसँगको आफ्नो सम्बन्ध केलाउन थाल्छु ।
एकजोडी आमाबाले साढे पाँचदशकपहिले जन्म दिएको म माहिलो छोरा । अर्धाङ्ग बन्न आइपुगेकी एक श्रीमतीको एक श्रीपति । एक छोरी र दुई छोरालाई संसार देखाउने एक बाबु । दर्जनौँ दिदीदाजुहरुको एक भाइ र दर्जनौँ भाइबहिनीहरुको एक दाजु । दर्जनौँ बाजेबज्यैको एउटा प्यारो नाति र दर्जनौँ नातिनातिनीहरुको एउटा श्रद्धेय बाजे । दर्जनौँ काकाहरूको एक भतिजो र दर्जनौँ भतिजाहरूको एक काका । एकजोडी सासुससुराकी छोरी जिम्मा लिएको एक जुवाइँ । छोरीभतिजी जिम्मा लगाइएका जुवाइँहरू एवम् जिम्मामा आइपुगेका बुहारीहरूको एक ससुरो । दर्जनौँ फुपू/फुपाजूहरूको एक भदाहा र दर्जनौँ भदाभदैनकी एक फुपाजु । दर्जनौँ भिनाजुहरूको एक सालो र दर्जनौँ सालासालीहरूको एक भिनाजु । दर्जनौँ मामामाइजूको एक भान्जो र दर्जनौँ भाञ्जाभाञ्जीको एक मामा । दर्जनौँ जेठानहरूको एक बहिनीजुवाइँ र दर्जनौँ बहिनीजुवाइँहरूको एक जेठान । हजारौँ असल साथीहरूको एक असल साथी र हजारौँ कमसल साथीहरूको एक कमसल साथी । यसरी सामाजिक नाता खोज्दै गएमा यो लिष्ट निकै लामो बनेर महाभारत नै बन्नजाने सम्भावना हुँदोरहेछ । म एक्लो त कहाँ रहेछु र ? म त हजारौँ नातेदारहरूको बीचमा पो रहेछु ।

शैक्षिक नाताको हिसाबले पनि हजारौँ चेलाहरूको गुरू र सयौँ गुरूको चेला (यो सम्बन्ध भने मलाई केही हुँ भनी सोच्न बाध्य तुल्याउने सकारात्मक नाता हो । केही परेमा हामी छौँ सर भन्दै उचाल्छन् चेलाहरूले । गुरूहरुले अगाडि बढ्दै गर् परेको हामी बेहोरौँला भन्दै शुभाशिष दिँदै दिशानिर्देश गर्दछन् । म फगत एक्लो रहेनछु भन्ने बोध हुनजान्छ ।)

प्रशासनिक नाताको हिसाबले सयौँ हाकिमहरूको कारिन्दा र सयौँ कारिन्दाको हाकिम पनि हुँ । राजनीतिक नाताको हिसाबले दर्जनौँ राजनीतिक दलको कार्यकर्ता हुँ र सयौँ कार्यकर्ताको नेता पनि हुँ । यी दुई नाताले भने मलाई म पनि केही हुँ भनी सोच्न कहिल्यै दिएनन् । वरिपरि हजारौँको भीड हुँदा पनि आफू एक्लो एक्लो सुनो सुनोजस्‍तो लाग्ने । मेरो कोही छैनजस्तो लाग्ने । सुन्नुपर्ने पनि केही छैन । सुनिदिने पनि कोही छैन । फगत एक्लो छुजस्तो लाग्ने । सडकदेखि सदनसम्म चलेको जिन्दावाद र मुर्दावादको गगनभेदी नारा उराल्नेहरूबीचमा हुँदा पनि एक्लै उभिएकोजस्तो लाग्ने ।

आर्थिक नाताको हिसाबले म अफिसर लेभलको आकर्षक थायी जागिरेः लाखौँ मध्यमवर्गीय जीवनको अनुयायी । तर तलब थापेको एकहप्तापछि भने फाल्तु हरिकङ्गालः करोडौँ निम्नमध्यमवर्गीय जीवनको अनुयायी ।
०००

यतिले पनि आफ्नो परिचयमा सन्तुष्ट नभएपछि म को हुँ भनी केही विद्वानहरुलाई सोधेँ पनि । भौतिकवादीहरूलेः “तिमी देह हौ । सिर्फ काँचो मासुको एक थुप्रो हौ । जे छौ अहिले छौ त्यसपछि केही पनि हुनेछैनौ केही बेर ह्वास्सै गन्हाउने सिनो हुँदै खरानी भएर बिलाउनेछौ ।” भने । चित्त बुझेन र अध्यात्मवादीहरूलाई पनि सोधेँ । उनीहरूले, “तिमी आत्मा हौ । तिमी अजर अमर छौ । कहिल्यै विनाश हुँदैनौ । बारम्बार यस पृथ्बीमा जन्म लिन आइपुग्नेछौ ।” भने ।

म देह कसरी हुँ ? भनी बाहिर कहिल्यै खोजी गरिनँ । म कसरी आत्मा हुँ ? भनी भित्रैसम्म पसेर कहिले हेर्न सकिनँ । उहाँहरूको कुरा पत्याउन पनि सकिन र नपत्याउन पनि सकिन ।
०००

खासमा म पहिले कान्छो थिएँ । भाइ जन्मिएपछि माहिलो बनेँ । स्कूलमा गएको दिन नाम लेखाउँदा थाहा पाएँ कि मेरो नाम पूर्ण रहेछ । लेख्न जानेपछि बहादुर पनि हुँ भन्ने पत्तो लाग्यो । त्यसको केही वर्षपछि यो ‘बहादुर’ मध्यनामले मलाई गिज्याउनुसम्म गिज्यायो । मेरो पालो हटाउन मिल्ने ठाउँहरूमा नामबाट ‘बहादुर’ सफाया गर्दै गएँ । ओली हुँ भन्ने थाहा पाउन त अरू धेरै वर्ष खर्चनुपर्‍यो । म वयष्क भएपछि विवाह बन्धनमा बाँधिएँ । ससुरालीतिरतर्फबाट म जेठो जुवाइँको पदभार ग्रहण गर्न पुगेँ । त्यसपछि ससुराली खलकतिरको सम्बन्ध निकै विस्तार भयो । अनि दाजुभाइसँग छुट्टिएँ, त्यसपछि छिमेकीहरूसँग चिनजान तथा सम्बन्ध धेरै परसम्म विस्तार हुन पुग्यो । म विद्यार्थी र शिक्षक दुवै भएँ र अनेकौँ विद्यालयहरूमा मेरो परिचय विस्तार भयो । म जागिरे भएँ र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कर्मचारीहरूसँग परिचित भएँ ।

तर जतिसुकै सम्बन्ध विस्तार भए पनि मलाई भित्रैदेखि चिन्ने कोही छ जस्तो लाग्दैन । मलाई उनीहरूले सिर्फ आआफ्नो बाहिरी नजरले चिनिरहेका छन् । धेरैजसोले असल नै भन्छन् । म कसरी असल भएँ ? मैलाई थाहा छैन । मलाई खराब देख्नेहरू पनि छन् अलिअलि । म कसरी खराब भएँ कहिल्यै थाहा पाउन सकिनँ । यस खालको परिचय मउपरको पूर्वाग्रही परिचय मात्र हो ।
०००

मलाई लाग्छः मलाई खासमा चिन्ने मेरो आमाबा मात्र छन् । म को हुँ भनी चिन्नको लागि मेरी आमालाई सोध्नुहोस् । म के हुँ भनी जान्न मेरो बालाई सोध्नुहोस् ।
स्कूल नजाँदै एक प्रकारका बालक साथीहरू थिए । कुनै साथी खेल्दाखेल्दै आफै लड्यो भने माइलोले मलाई लडायो भन्थ्यो । मैले उसलाई लडाएकै हुँदैनथेँ तापनि उनीहरूलाई मैले केही भन्दैनथेँ । आमाले थाहा पाउनुभयो भने भन्नुहुन्थ्योः मेरो छोराले अरूलाई कहिल्यै लडाउन सक्दैन । स्कूल पढ्न जान थालेपछि अर्को प्रकारका साथीहरू जोडिए । कसैले शिक्षकसँग उजुरी गरिदिन्थ्योः पूर्णेले मेरो कलम चोरिदियो । मैले शिक्षकबाट पिटाइ खान्थेँ । मैले चोरेको होइन भन्नै सक्दैनथेँ । आमाले थाहा पाउनुभयो भने स्कूलमा गएर पिटाइ खुवाउनेसँग झगडा गर्दै भन्नुहुन्थ्योः मेरो छोराले चोर्ने काम कहिल्यै गर्न सक्दैन । खास चोर पत्ता नलागुन्जेलसम्म म शंकाकै घेरामा पर्दथेँ । क्याम्पस पढ्दा किशोर साथीहरू थपिए । कसैले भन्थ्यो यो त लफङ्गो भयो । आमाले थाहा पाउनुभयो भने भन्नुहुन्थ्योः मेरो छोरा लफङ्गो कहिल्यै बन्न सक्दैन ।

एकपटक गाउँमा म नेता बनेको हल्ला मच्चियो । मेरा आमाबाको कानमा अनेक थरी कुरा फुकियो । आमाबाले प्रतिवाद गर्दै हिड्नुभयोः मेरो छोरा कहिल्यै नेता हुनसक्दैन । तर उहाँहरूको कुरा कसैले पत्याएन । आखिरमा उहाँहरूले मैलाई सोध्नुभयोः तँ नेता बनेको होस् र ? मैले जवाफ दिएँ: नेता भइसकेको त छैन, तर नेता हुनु भनेको आफ्नै साथीलाई लडाउनु, आफ्नै साथीको चोर्नु, उसैलाई ठग्नु, लफङ्गो हुनुजस्तो त होइन नि बाबा ? मेरो तर्कले बाबा अवाक हुनुभयो । त्यसपछि आमाबाले मेरो पक्षमा दुनियाँसँग प्रतिवाद गर्न छोडिदिनुभयो । मैले पनि नेता हुने चाहना छोडिदिएँ । खासमा नेता हुने चाहना मेरो उति बेला पनि थिएन । तसर्थ म नेता कहिल्यै हुन सकिनँ ।
०००

कालान्तरमा मेरा नातेदारहरू र साथीहरू थपिँदै गए । चुलिँदै गए । सम्बन्ध विस्तारसँगै उनीहरूको अपेक्षा तथा स्वार्थ पनि विस्तार हुँदै गयो । जसको स्वार्थ मिल्यो ऊ मेरो नजिक पर्‍यो । जसको स्वार्थ गाँसिएन ऊ परै रह्यो । नजिक हुनेले एकप्रकारले चिन्यो टाढै रहनेले अर्कै प्रकारले चिन्यो । मप्रतिको दृष्टिकोण उनीहरूको आआफ्नै बन्दै गयो । सम्बन्धको कम्प्लेक्सिटी झन् झन् खँदिलो हुँदै गयो । म झन् झन् अपरिचित हुने जोखिम बढ्दै गयो । म आफ्नो बचाउको लागि आफै बोल्न नसक्नेले मेरोलागि कसले बोलिदिने ? आमाले म सानो समूहको घेरामा हुँदा आमाले प्रतिवादमा उत्रनुहुन्थ्यो । अब त्यो अवस्था पनि रहेन । उहाँ गाउँमै थुप्रिनुभएको छ, म सहरमै कुप्रिएको छु ।

मेरो आफ्नै सन्तान दुर्घटनामा गुमाउँदा पनि हत्याराको विरोधमा म चुइँक्क बोल्न सकिनँ । म आफूउपर अन्याय पर्दा न अन्याय भयो भनी बोल्न सक्ने, न न्याय पाउँदा तीनबित्ता उफ्रन सक्ने ।

म अहिले खुट्टा तानातान र टुप्पी उखेलाउखेल गर्ने हरूको राजनीतिक एवम् प्रशासनिक खेलाडीहरूको घेराबन्दीमा परेको छु जस्तो लाग्छ । ठ्याक्कै हो भनी भन्न सक्तिनँ । यहाँ पनि न कसैले खुट्टा तान्दा आफ्नो खुट्टा सिमल्न सक्छु, न त कसैको खुट्टा तान्न नै सक्छु ।

म त जता फालियो, उतै फालिने । जता धकेलियो, उतै धकेलिने । कसैले काँध चढाए, काँधमै चढिदिने, कसैले पाइतालामुनि कुल्चिए सहजै कुल्चिइने । निकै हलुका । निकै मिहीन । यो हलुकापनदेखि आत्मग्लानी पनि हुन्छ । छाती चारचिरा हुन्छ । लाग्छ म के मान्छे ? यो संघर्षशील श्रृष्टिमा बाँच्न लायकको प्राणी म हुँदै होइन । तर अहिलेसम्म बाँचिरहेकै छु । कसरी बाँचिरहेको छु आफैलाई अच्चम्म लाग्छ ।

कहिले उनीहरूसँग स्वार्थ गाँसिए पनि नगाँसिएजस्तो हुने । कहिले नगाँसिए पनि गाँसिएजस्तो हुने । मलाई कसैसँग लिनुदिनु केही छैन । उनीहरू आफ्नै मूल्याङ्कनअनुसार मलाई विभिन्न बिल्ला भिराइदिन खोज्छन् । मलाई नचिन्नेहरूले मउपर तिनीहरूकै ट्रेडमार्क प्रयोग गर्छन् । मलाई चिन्नेहरुले त्यो ट्रेडमार्कउपर पटक्कै विश्वास गर्दैनन् । मेरो सही मूल्याङ्कन हुँदा पनि म केही बोल्दिनँ । गलत मूल्याङ्कन हुँदा पनि केही बोल्दिनँ ।
०००

फेसबुक प्रोफाइलसँग अनुहारसँग मेरो ओरिजिनल अनुहार मिल्दैन । फेसबुकको फेसनसँग मेरो खास फेसन भिड्दैन । फेसबुकमा राखिएको सुन्दर प्रोफाइल पिक्चरभन्दा ठीक विपरीत कता हो कता कुरूप छु म । म आफैले फेसबुकमा पोखेको विचारसँग मेरो निजी विचारको कतै तालमेल हुँदैन । उहिलेका निरीहहरू कुना बसेर धुरूधुरू रोएर गुनासाहरू सिनित्त बगाएजस्तै अहिलेको जमानामा बाहिरी दुनियाँसँग बोल्न नसकेका कुरा ओकल्ने र गुनासा बगाउने माध्यम मात्र हो मेरोलागि फेसबुक । यो गन्थन त्यसैको परिणाम हो ।

मैले कसैको लागि कहिल्यै केही गरिनँ । तसर्थ न कसैसँग तँछाडमडाड पर्‍यो, न कसैसँग न त झगडा पर्‍यो, न त माया नै बस्यो ।

म कसैलाई मनपर्छ भन्न नसक्ने र कसैलाई मन पर्दैन भन्न पनि नसक्ने । भोक लाग्यो पनि भन्न नसक्ने र अघाएँ पनि भन्न नसक्ने । मलाई त्यो चाहियो पनि भन्न नसक्ने र यो चाहिएन भन्न पनि नसक्ने । म समूहमा पनि बस्न नसक्ने र एकान्तमा पनि बस्न नसक्ने । ज्ञान लिन पनि नसक्ने र दिन पनि नसक्ने । पढ्न पनि नसक्ने र छोड्न पनि नसक्ने । खासमा म एकदमै अजीव प्राणी हुँ ।
०००

पत्याए पत्याउनुहोस्, नपत्याए नपत्याउनुहोस् । मेरो असली रूप यही नै हो । बिहे नहुँदै यस्तो कुरा गरेको भए जोडी नपाइएलान् भन्ने पीर हुन्थ्यो अब त्यो पीर छैन । नातागोता नगाँसिदै आफ्नो असली रूपको पर्दाफास गरेको भए मेरा आफन्त कोही नहोलान् भन्ने डर हुँदो हो अब त्यो डर पनि छैन । जागिर नखाँदै दरखास्त फारामको व्यक्तिगत विवरणमा यी कुरा उल्लेख गरेको भए जिम्मेवारीबाट वञ्चित होउँला कि भन्ने त्रास हुन्थ्यो अब त्यो त्रास पनि छैन । मरेपछि मलामी नआउलान् कि भन्ने एउटा डर मात्र बाँकी हो, मरेपछि डुमै राजा ।

तसर्थ यो गन्थनमा सामेल हुनेहरूलाई सुनाउनलायक मेरो परिचय यही हो । म मान्छेजस्तो देखिने एउटा नितान्त अमान्छे हुँ । मलाई सिधा नजरले हेर्नेहरू मेरो नजिकै आउनुहोस्, मबाट तपाईँलाई कहिल्यै कुनै पनि हानीनोक्सानी नहुने ग्यारेन्टी दिन्छु । मलाई बाङ्गो नजरले हेर्नेहरू मदेखि अछट्टै पर रहनुहोस् । म तपाईँलाई कहिल्यै छुन आउँदिनँ । त्यस्ताको लागि म एकदमै असल मान्छे हुँ ।
तर मेरो वर रहेर परको भूमिका नखेल्नुहोस् वा पर तर्किएर वरको भूमिका नखेल्नुहोस् । मैले तपाईँको सामु बोल्न नसके पनि मलाई विषम् दुरीको अन्तराल महसुस गराउने यस्तैहरूको विरुद्धमा कहिलेकाँही फेसबुकका भित्ताहरूमा म जथाभावी पोखिने गर्दछु । अहिलेसम्म नपोखिएको भए पनि पछि कहिले न कहिले पोखिने सम्भावना प्रबल छ । ख्याल राख्नुहोस्, त्यस्ताको लागि म एकदमै खराब मान्छे हुँ ।

तर म असल भए पनि खराब भए पनि अरूको लागि तातो न छारो । म त कसैको लागि काम नआउने एउटा भुत्तिइसकेको कर्द हुँ । मैले काट्न खोज्दैमा कसैको केही काटिनेवाला छैन, कहिलेकाँही दुखाउनुसिवाय ।

अन्तमा,
हे बरै, हे बरै, बाबैले सोध्लान् नि खोइ छोरा भन्लान्, रण जित्दै छ भन्दिए…….. गीतप्रति कमै प्रभावित भएको छु यतिखेर । आइन्दा उल्लिखित भावनाहरू समेत समेटिएको संशोधित गीत आवस् भन्ने कामनाका साथ अर्थ न बर्थको बर्थडे गन्थनमा सहभागी भैदिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै यो लम्बेतान गन्थनबाट बिदा हुन्छु । मेरो जन्मदिवसलाई महत्त्व दिई शुभकामना व्यक्त गर्नेहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
०००

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार