भदौ ३० काठमाडौ – काभ्रेको बनेपा नगरपालिका– १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । भदौ २६ गते राति साढे एक बजे १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चार दिनपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। याे समाचार नयाँ पत्रिकाका लागि इन्द्रबहादुर थापाले लेखेका छन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बालिका बलात्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाको हल्दीबारी गाउँपालिका– ५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङको उर्लाबारी नगरपालिका– १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो ।

उनीहरूले बालिकालाई बलात्कार गरेको स्विकारेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूलाई जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक खतिवडाले दिएको जानकारीअनुसार भदौ २६ गते राति साढे १२ बजे भक्तपुर जिल्ला भक्तपुर नगरपालिका– १ सिर्जनानगरस्थित सडक किनारामा गाडी कुर्दै थिइन् बालिका । त्यही क्रममा काठमाडौंबाट झापातर्फ जानका लागि उक्त ट्रक आइपुग्याे । पूर्व जाने भनेपछि सम्बन्धित ठाउँमा पुर्‍याइदिने भन्दै ट्रकमा बालिकालाई राखे । त्यसपछि रातको साढे १ बजे उक्त ट्रक अरनिको राजमार्ग हुँदै बनेपा नगरपालिका– १२ स्थित साझा पेट्रोल पम्पअगाडि आएर रोकियो ।

ट्रक रोकेर बालिकालाई चालक विश्वकर्मा र धिमालले पालैपालो करणी गरे । करणी गरीसकेपछि बालिकालाई त्यहीँ छाडी ट्रक झापातर्फ हुइँकियाे । रातको समयमा बेवारिसे अवस्थामा बालिका प्रहरीले फेला पारेपछि पहिचान नखुलेको ट्रकका चालक र सहचालकले जबर्जस्ती करणी गरी छाडेको भनेपछि बालिकालाई उद्धार गरी परिवारलाई जिम्मा लगाई अनुसन्धानमा प्रहरी लागिपर्‍याे । उक्त ट्रक साँगादेखि बनेपा आउन धेरै समय लगाएको थाहा पाएपछि ट्रकलाई निगरानीमा राखी चेकजाँच गर्ने क्रममा मंगलबार धुलिखेलबाट ट्रकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।(नयाँ पत्रिका बाट)

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार