भदौ १७ सल्यान – कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–४ का २८ वर्षीय गणेश रावल रहेका छन।

भारतीय नम्बर प्लेटको सी एच ०१ बी पी २१९४ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित उनलाई सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा सल्यान प्रहरीले बुधबार बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

इलाका प्रहरी कार्यालय सल्लीबजारको चेक पाेष्टमा जाँचका लागि उनले मोटरसाइकल नरोकी भागेपछि प्रहरीले उनलाई पच्छाउदै जादा एक किलोमिटर टाढा सल्लीबजारको माथिल्लो मोडबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए। अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार