कोखामा दाँत भएका मान्छे, सर्पभन्दा रिसालु हुन्छन्
कुनै कुनै मान्छे मान्छे जस्ता, सर्पभन्दा विषालु हुन्छन्
सहयोगी बनेर आँखाबाट सज्जन हुँ भनेर देखाउनेहरु
मान्छे भएर मान्छेलाई डस्न, सर्पभन्दा सिपालु हुन्छन्।

खुकुरी हानेर अचानोमा चोट लेखाउने तिम्रो बानी
मायामा शङ्का गरेर खोटैखोट देखाउने तिम्रो बानी
किन तिमी कटक्क दुख्छौ, सहनै सकस हुन्छ मलाई
आगोमै झोसेर मायाको मोठ सेकाउने तिम्रो बानी।

आँखाभित्र आँसु लुकाउन तिमीसँग सिक्दैछु म
पीडामाथि हाँसो मिसाउन तिमीसँग सिक्दैछु म
फूलको जस्तो बाँच्ने कला तिमीले नै सिकायौ
मृत्युलाई पनि झुकाउन तिमीसँग सिक्दैछु म।

तिमी भनेपछि किन हो हुरुक्कै हुन्छु म
तिमीमा अडेस लाग्दा फुरुक्कै हुन्छु म
साहस, सल्लाह, सुख सप्पै तिमी तिमी
तिमीले उत्साह दिँदा जुरुक्कै हुन्छु म।

तिमी फुल्यौ फुल्दा घोच्यो, मलाई सूनमा ठेस लाग्यो
तिमी झुल्यौ झुल्दा घोच्यो, मलाई जूनमा ठेस लाग्यो
जे जे छन् राम्रा सिर्जना, सबै आफ्नो बनाउन खोज्दा
तिमी खुल्यौ खुल्दा घोच्यौ, मलाई धूनमा ठेस लाग्यो।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार