प्रकृतिका हरेक उपहारहरु सुन्दरताले सुसज्जित हुन्छन्। प्रकृति आफै सुन्दर र शाश्वत छ। यस सृष्टिमा प्रकृतिबाट प्राप्त हरेक वस्तुहरु बरदानतुल्य छन्। सृष्टियानी प्रकृति पनि कलाकाे विशाल भण्डार हाे। कलायुक्त अन्तरहृदयले यस सृष्टिलाई स्पर्श गर्न सक्ने मान्छे सुखी हुन्छ,भावुक हुन्छ र कलाकाे पारखी पनि हुन्छ ।

”घाेडागाउँकाे राताेमाटाे गेरु सराबरी,
दिन्ले जेठाे कान्छाे हम्ला माया बराबरी ।”

याे गीतकाे अंश मैले बाल्यकालमा सुनेकाे थिएँ,मेरै गाउँमा ।यसका रचनाकार र गायकका बारेमा मलाई कुनै जानकारी छैन । तै पनि मैले यस गीतलाई भुल्न सकेकाे छैन। किनकि याे गीत मेराे माटाेसित जाेडिएकाे छ र मेराे माटाे फेरि मेराे मुटुसित गाँसिएकाे छ। म संग मेराे मुटु रहुन्जेल याे गीत पनि म बाट बिलाउन सक्तैन। गीतकाे माथिल्लाे हरफले घाेडागाउँ र यसकाे पुछारमा अवस्थित राताेमाटाे र यसकाे सुन्दरतालाई समेटेकाे छ ।

परिचय

गाउँसमाजमा हामीले सुन्दै आएकाे भनाइ- ‘राताे राम्राे गुलियाे मीठाे ।’रङकाे सुन्दरता हाम्रा आँखाले महसुस गर्छन्। हुनपनि सृष्टिका अनेक रङमध्ये राताे रङ्काे बेग्लै महत्व र अर्थ छ ,अनि यसकाे विशिष्ट सुन्दरता पनि। पुर्ख्याैलीहरुले भनेकाे मनमा याद आइरहन्छ।

युवाहरुलाई राताे चाहिन्छ, बुढाबुढीलाई ताताे चाहिन्छ ।’
जेहाेस् राताे रङ सबै उमेर समुहका मानिसहरुका लागि उत्तिकै प्रिय हुन्छ ।

घाेडागाउँ राेल्पा जिल्लाकाे पूर्वतर्फ अवस्थित छ र याे प्यूठान जिल्लाकाे सीमानासंंग जाेडिएकाे छ। घाेडागाउँ सुनिलस्मृति गाउँपालिकाकाे एक नम्बर वडामा पर्दछ । ऐतिहासिक यस विशाल बस्तीकाे आफ्नै विशेषता र माैलिकता रहिआएकाे छ ।हरेक घरलाई घाेडागाउँमा पाइने राताे माटाेले लिपेर सिङ्गार्ने चलन पहिले पुर्वज काल देखिनै चलिआएकाे छ । महिलाहरुले हरेकदिन राताे माटाेले ढाेका पाेतेपछि( लिपेपछि) जीवनभर सधवा (राताे लगाउन पाइने)हुन्छ भन्ने जनविश्वास रहिआएकाे छ ।

राताेमाटाेका आफ्नै विशेषता छन्, जाे निम्न प्रकार छन् –

१) साँस्कृतिक विशेषता

हरेकवर्ष दशैं,तिहार ,माघेसक्रान्ती र साउने सक्रात्तीमा वर्षकाे चारपटक सम्पूर्ण घरलाई पाेत्ने(लिप्ने) परम्परा छ । घरकाे आधा भाग माथितिर गाउँमै पाइने सेताे कमेराेले र आधाभाग तलतिर वा पिढिकाे भाग राताेमाटाेले पाेतेर(लिपेर) अझ सुन्दर र सफा देखाउने चलन अझै कायम छ । यसैगरि दशैमा घाेडाकाेटकाे माैलाे अनि दशैंघर पनि सेताे-राताे माटाेले रङ्गाएर सुन्दर बनाउने चलन छ । चाडपर्वकाे समयमा टाढा टाढाबाट मानिसहरु आएर यहाँकाे राताेमाटाेले घर सिगार्नका लागि लिनेकाे भिड हुन्छ ।

२) धार्मिक विशेषता

घरमा धार्मिक कार्य पुजा आरधना आदि गर्दा बाँसकाे लिङ्गाेलाई सेताे-राताे माटाेले रङ्ग्याई गाड्ने परम्परा छँदै छ । घाेडागाउँकाे छिमेकी गाउँ खुङ्रीमा गिरी, पुरी ,भारती आदि दशनामी समुदायका मानिसहरुकाे बसाेबास भएकाेले उनीहरुका पुर्खाले गेरुरङ्का कपडा लगाउने गर्दथे । गेरुरङ नपाउँदाकाे अवस्थामा यही घाेडागाउँकै माटाेले रङ्गाएर लगाउने गर्दथे ।त्यसैगरि स्वर्गद्वारी आश्रमबाट प्रभु महाराज आई यहाँकाे राताे माटाे लगी आफ्नाे जन्मस्थल रुन्टी भन्ने ठाउँमा जाने गर्दथे ।प्रभुकाे शेषपछि पनि चेलाहरु आई यहींबाट माटाे स्वर्गद्वारी लगेर कपडा रङ्गाउने गर्दथे ,गेरुरङ नपाइदाकाे अवस्थामा ।

३) राजनीतिक विशेषता

राताेरङलाई विजयकाे रङ मानिन्छ ,क्रान्तिकाे बीम्ब मानिन्छ ।जनयुद्ध कालमा यही राताेमाटाेमा छापामारहरुले सुरुङ युद्ध गर्ने भनेर बङ्कर पनि खनेका थिए जाे अझैपनि देख्न सकिन्छ ।पञ्चायत कालमा भूमिगत राजनीतिक संगठन गर्न र कार्यक्रम गर्नलाई यसै राताे माटाेकाे जङ्गललाई प्रयाेग गर्ने गर्दथे ।जनयुद्धकालमा यसै राताेमाटाेमा यसै गाउँकी चेली आस्थालाई पक्डेर गाेली हानी हत्या गरेका थिए। तत्कालीन शाहीसेनाका मान्छेले । आस्थाकाे राताे रगत पनि यसै राताेमाटाेमा मिसिएकाेले राजनीतिक विशेषता मान्न सकिन्छ ।

खेतीपातीकाे हिसावले राताेमाटाेलाई ‘माटाेकाे राजा’पनि भन्ने गरिन्छ । म सानाे छँदा अघि बुढापाकाले भनेकाे सम्झन्छु -राताेमाटाे राजा कालाेमाटाे काजी र फुर्साेमाटाे पाजी । राताेमाटाे कृषिकर्मका लागि उत्तम भएकाे र प्रशस्त उब्जनी हुने भएकाेले ‘राजा’भनिएकाे हाे ।

उपसंहार

हाल यसै राताेमाटाेमा Red Soil Park काे निर्माण कार्य आरम्भ गरिएकाे छ । हालका दिनमा स्थानीय पर्यटकहरु राताेमाटाे अवलाेकन गर्न ,वनभाेज खान र फाेटाे खिच्नलाई आउने गरेकाछन् । रातामाटाकै नाउँबाट यहाँकाे वनक्षेत्रलाई ‘रातामाटा सामुदायिक वन’नामाकरण गरिएकाे छ । यस राताेमाटाेकाे ठिक तलतिर सुन्दर ओवाङ बस्ती देखन सकिन्छ ।सालकाे जङ्गलले घेरिएकाे क्षेत्रमा अनाैठाे खालकाे विशाल कलापूर्ण गुफा छ । त्यसकाे ठिक तलतिर प्राकृतिक कलायुक्त ओडारहरु पनि छन् । यसकै ठिक तल माडीगाड अविरल बगिरहेकाे देख्न सकितन्छ । ठिक पारितिर विशाल र सुन्दर खुङ्री गाउँ ,त्रिपुरेश्वरी मन्दिर र माडीखाेलाका सुन्दर बस्तीहरु सारी ,भिङ्री जस्ता गाउँहरु अवलाेकन गर्न सकिन्छ । त्यसैगरि स्वर्गद्वारी लेक पनि दक्षिणतिर प्रष्ट देख्न सकिने भएकाेले एकपटक सबैले अवलाेकन भ्रमण गरेर अध्ययण गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार