श्रावण १० जनकपुर – नेपाल भारत सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएकाेे सार्वजनिक भएकाे छ। केही स्तम्भ मर्मत सम्भार नहुदा हराए पनि धेरै जसाे स्तम्भ भने भारतीय ज्यादतीका कारण हराएको स्थानीय बासीकाे भनाइ छ।

हराएका सिमा स्तम्भहरु प्रदेश २ का ८ जिल्लामा रहेका ४ हजार २७ सीमा स्तम्भ मध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेकोमा, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएका र ८४९ सीमास्तम्भ हराएका छन्। सीमास्तम्भ नै हराएपछि नेपाल भारतको सीमामा समस्या चुलिएको हाे। प्रदेश २ का पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएको प्रदेश २ को सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासले बताएको छ।

प्रदेश २ का आठ जिल्ला अन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भ मध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको छ। माडर स्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ। भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या देखिन्छ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल-भारतबीचको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरूको भनाइ छ। ‘जिपिएस सिस्टम’बाट कहाँ-कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमांकन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाहरूको माग छ।

सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन्। सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय परिवार बस्दै आएका छन्। बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरिएको बताइएको छ। सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन्।

सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू यसप्रति उदासीन देखिएका र उनीहरूले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयबासीको आराेप छ। धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताएका ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार