आर्थिक सम्पन्नताको सपना बोकेर
बिदेशिएको म खाडीको पचपन्न
डिग्रीको घाममा पिल्सिएको छु बा।

सुन्दर भविष्यको कल्पना गरेर
बिदेशिएको म खाडीका मुल्लाको
बुटले कुल्चिएको छु बा।

देशमै केही गर्छु भनेको
पार्टीको झोले नभएकाले
म देशमा अटाइन बा।

गरिबीले पिल्सियका हामी
ऋण बैंकले पत्यायन
अनि खाडीको बाटो तताएं बा।

नेताहरुले आश्वासन त दिए
कुर्सी पाए पछि सबै बिर्से
हामीलाई बेच्न उचित ठाने बा।

म बेचिए पनि केही छैन
रेमिटान्स पठाएर देशको
अर्थतन्त्र बलियो बनाएकोमा खुशि छु बा।

कतिबेला काठको बाकसमा
प्याकिङ हुने हो?तिम्लाई पाल्न
नसके पनि नेता त पालेकै छु बा।

चुनावमा आर्थिक सहयोगको
याचिका दायर गर्दा भर्खर देश
फर्काउंछन् कि झैं गर्छन् बा।

त्यो बेला हाम्रो निकै चासो राखेर
हामीप्रति सहानुभूती देखाई दिन्छन्
तिमी भन्दा त उनै नजिक लाग्छन् बा।

हामी पनि के कम!देश बनाउने
ठेक्का बोकेर तिम्रो गाँस रोकेर
उनैलाई चन्दा पठाउंछम् बा।

हाम्रा दलिन माथि टिन लागोस्
नलागोस् उनलाई दरबारिया
सुखसयलमा पुर्याउंछम् बा।

हाम्रा भकारी रित्तिउन
उनलाई चौरासी ब्यन्जनको
ब्यावस्था गरिदिन्छम् बा।

उनी दरबारिया बन्छन्
हामी घरबारिया अब स्तर फरक
छ अब कसरी चिनुन् त बा।

हाम्रो रगत र मासुको थुप्रोबाट
चिच्याउदै छन् अरे
अब युवा बिदेशिनु पर्दैन भनेर बा।

हामी मूर्ख मक्ख परेर फेरि
चुनावका लागि सहयोग जुटाउन
अोभर टाईम काममा खटियौं बा।

अझै पनि हामी उनै भ्रष्ट नेता
पाल्न कम्मर कसेर लागेका छौं
खै कैले होस खुल्ने हो बा।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार