छायाँभित्र मुहार बन्द उसको देख्‍दैन आफू पनि
बाटोबाट हिडेर भुल्छ बटुवा भेट्दैन आफू पनि
यस्तो एक रहेछ ठाउँ जुनमा बस्छन् अनौठा जन
बस्ती पागलको भनेर चिनिने छुट्टिन्‍न रातोदिन ।१।

यौटाले शिरमा धरी मुकुट त्यो अट्हासमा हाँस्दछ
आफै हो भगवान् भनेसरि गरी स्वप्ना बडा बाँड्दछ
कोही छैन बुझाउने यस घडी हुन् सत्य के के भनी
बस्ती पागलको अचम्मसितले चल्दै छ यो तापनि ।२।

सेतो होइन रे हिमाल हिमको ऊ भन्छ कालो भन
कोही बोल्छ विरोधमा जब उठी ऊ भन्छ जालो बुन
त्यै हो सत्य म जे कहन्छु मुखले मिथ्या कुरा हुन् अरु
मै हूँ सर्वगुणी भनी जगतमा जान्‍नू महात्मा गुरु ।३।

अन्धो लाग्दछ भक्तको भिड उसै खोज्दैन के सत्य हो ?
प्राणै दाउ लगाउने किसिमको जन्जालमा बन्द भो
हेरी बाहिर रात वा दिन कसो सक्दैन छुट्ट्याउन
कस्तो जाल बुन्यो कठै र कसरी सक्दो छ लट्ठ्याउन ।४।

आहा ! त्यो महको सुबास छ मिठो हावाभरी फैलिने
खोज्दै पुग्दछ लोभले नजिकमा, मक्खी त्यहीं अल्झिने
बिर्सी त्यो घर मार्ग भुल्छ छिनमै आफ्नो पुरानो चिनो
आफू नै मह हूँ कि ठान्दछ जसै अस्तित्व उस्कै छिन्यो ।५।

आँखा छन् तर दृष्टि छैन जनका त्यस्तो छ बस्ती त्यहाँ
ठेंडी कानभरी छ छैन सुनिने आवाज रित्तो त्यहाँ
बोल्दैनन् मुखले अबोल व्रत झैं मौनी यिनी छन् किन
बस्ती पागलको अचम्मसितले शान्तै छ रातोदिन ।६

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार