घर छाडेकाे दुईदिन भएकाे थियाे ।घाेराहीबाट घर फर्कँदा राम्चेडाँडामा बास बस्ने याेजना बनाएर हिंडेका थियाैं ।राम्चेकाे उकालाे काटेर साँझ छ बजेतिर राम्चेडाँडामा आइपुगेका थियाैं ।राम्चेकाे डाँडाे-जहाँबाट दख्खिनतिर हेर्दा दाङ्काे मनाेहर फाँटलाई नियाल्न सकिन्छ ।हाम्रा आँखाकाे क्यामराले त्याे सुन्दर र विशाल फाँटलाई कैद गर्याैं र मनकाे एल्बम भित्र सजाएर राख्याैं ।

२०३५ साल असाेज महिनाकाे अन्त्यतिर थियाे ।तीन महिनासम्म लगातार वर्षाद्ले धाेएर सफा भएका थिए डाँडापाखा र खाेलाखाेल्सीहरु ।निकैबेर राेएर थाकेकी युवतीकाे अनुहार झैं स्निग्ध थियाे आकाशकाे अनुहार पनि ।थकित अनुहारका बुढा सुर्जेकाे अनुहार रातै थियाे र दाङ्काे दख्खिनतिर डुब्नै आँटेका थिए ।कञ्चन मनका पन्छीहरु फर्कदैथिए अाफ्नाे गूँडतिर ,त्याे नीलाे अाकाशकाे मनि ,साना बच्चाहरुले चङ्गा उडाए झैं ।दशैंले तताइसकेकाे थियाे गाउँघरलाई ।बुक्राहरु एकछाक मासुकाे झाेलसित पसिनाकाे भात मुछेर दशैं धकेल्न कस्सिएका थिए ।अँध्यारा काेठामा उम्रिएका जमरा आतुर थिए आसिक बनेर निधारमा राेपिनलाई ।

याे हाडैहाडकाे पहाड ,भात भन्ने चीज कति महङ्गाे भएकाे हाेला!कसैले आफ्नाे भलाे हुने काम वा चित्त बुझ्ने कुराे गरेपछि भन्ने गरिन्थ्याे -‘तिम्राे मुखमा दुध भात जाओस् ।, ‘तिम्राे मुखमा मासु भात जाअाेस्, किन नभनिएकाे हाेला?आखिरमा दशैंमा त मासुभातकै महत्व हुन्छ ।दुधभात के त्यति साराे मीठाे हुन्छर ,रस न पसकाे ।आज मैले ती दिन संझेर आफै घाेर्रिने र घाेत्लिने गर्छु ।

म स्कुले माष्टर तीन तीन महिने तनखा थाप्ने जागिरे ।सानाे दसमुरा भएपनि खेत थियाे ।सानाे परिवार थियाे चारजनाकाे मात्र । आठ-पाँचलाई भात खान पुग्थ्याे ,बेसाहा गर्नु पर्दैनथ्याे ।मेराे अवस्था त त्यस्ताे थियाे भने अन्य मेरा गाउँले छिमेकीहरुकाे अवस्था कस्ताे थियाे हाेला ?धेरैकाे जलखेतीकाे नाउँमा एउटा गराे सम्म थिएन ।मासिक पैंसाे आउने बाटाे र उपाय थिएन ।म सानाे छँदा मेरा दाैंतरीहरुले भनेकाे संझन्छु ‘आज ता हाम्राे घर्मा भात पाक्याे’। घरमा भात साँच्चिकै उत्सव र खुसी बनेर पाक्दथ्याे ।त्यस्ताे घर र गृहस्थीलाई सम्पन्न र सुखी ठानिन्थ्याे जहाँ वर्षभरि सेताे र सिताेकाे अभाव नहाेस् ।

,रहरेकाे रहर पुग्याे धन्न सेवारखाेली, गीतकाे अंश याद आउँछ मलाई अहिलेसम्म ।घाेराही बजारबाट विहान सबेरै हिंडेका बाजे नाति भेटिए बाटामा ।बाजे उमेरले सत्तरी नाघी सकेका जस्ता देखिन्थे भने नाति भने कल्कलाउँदाे किशाेर ।१२वर्षे किशाेर नाति भारीले जिताएर लखतरान परेकाेले रुँदै थियाे हिक्क हिक्क ।उनीहरु खाेलाे काटेर उकालाे चढ्ने तरखरमा थिए ।त्यसै अबस्थामा नातिलाई लक्षित गरेर गाएकाे गीतकाे टेकाे थियाे त्याे ।

सेवारखाेली कति अप्ठेराे भारीसित हिड्नलाई ! पेदादेखि सेवारखाेला प्रवेश गरी घाेराही फुर्सेखालीतिर नपुगुन्जेलसम्म तेइस घाट तर्नुपर्थ्याे ।त्यसबेला खाेलाकाे किनारबाट बाटाे बनेकेा थिएन ।त्यतिखेरकाे खाेलाकाे बगर नै राजमार्ग थियाे ।फेरि त्यतिबेलाकाे खाेलाे जहाँतहींबाट तर्ने हिम्मत पनि आउँदैनथ्याे ।डरलाग्दा ढुङ्गा वारिपारी असुरा र सिस्नुकाे घारी ।मैले ती बुढाबाजेलाई साेधिहालें-‘हजुर याे केकाे भारी हाेला?’
बुढाले ढुङ्गाकाे टेकाेमा भारी टेकाए । दाहिने हातकाे लाैराेले भारीलाई अडाए । देब्रेहातले मयलले कलेटी परेकाे र फाटेकाे टाेपीले पसिनाले भिजेकाे मुख पुछे ।खुइय!थकानकाे एकपाथी शास फाले ।-‘बाबु ,दशैं र त्यार बाेकेका छाैं ।पारकाे बसै जलखेती छैन ।अछिता हेर्नलाई पनि चावल पाइन्न ।दशैं त्यार भगाै नै पराे ।याे नातिलाई नआ धाै हुन्च भनेकाे मान्नै मानिन ।घाेरैबजार हेरेर आउँचु ,भारी नि बाेक्चु भनेर मेराे पछि लाएर आयाे । यस्ले दस नम्मरी बाेक्या छ,मैले बीस नम्मरी ।खाेटाे करम के गरम् यस्काे बाै पाेर्साल खसाे ।,
बुढा आँखाभरि आँसु पारेर गलाे घच्घच्याउँछन् ।
२२घाट सेवारखाेली पार गरेर उकालाे चढ्न आँटेका ती बाजेनातिकाे गलित र थकित अनुहारलाई राम्चेकाे उकालाेले गिज्याइरहेकाे जस्ताे देखिन्थ्याे ।

हामी पनि दुईजना नै थियाैं,मेराे गाउँले भाइ भरिया अनि म ।मेराे भरियाले चामल बाेकेका थेनन्,र भारी पनि उतिसाराे गरुङ्गाे पनि थिएन ।उनले बाेकेकाे हटारु जालीडाेकाे भित्र मट्टीतेलकाे टिन,ताेरीतेलकाे ग्यालेन र अरु फुट्कर सामान थियाे ।मेराे झाेलामा भने केही पुस्तक ,अलिकति कपडा र खात्राकखुत्रुक सामान गरेर पाँचकिलाे जति मात्र थियाे ।हामी दुबैजनामा तन्नेरी जाेस थियाे ।घाेराही बजारमा भात खाएर अाएका हामी ती बाजेनातिलाई पछाडि छाडेर उकालाे बाटाे लाग्याैं ।घाम नबुड्दै राम्चेडाँडामा पुगेकाथियाैं ।डाँडामा पुगेपछि हाम्रा खुट्टा पहेंला भए ।हाम्रा कपडा र हाम्ले बाेकेकाे भारी समेत पहेंलै भयाे ।वारिपारी हेर्दा वनजङ्गल पाखापखेरा सबै पहेंला देखिए ।अचम्मकाे ठाउँ छ त्याे जुनसुकै महिनामा पनि त्यहाँ पुग्नेबित्तिकै ,प्याँले,ले भेटे झैं सबैले बेसार घस्न पुग्छन् ।शायद त्यस डाँडामुनी कुनै खनिज भएर हाेला ।हामी नेपालीकाे बाध्यता सुनकाे ओछ्यान लगाएर नूनकालागि ज्यान हाल्नुपर्ने!

हामी राम्चेडाँडामा बास बस्ने लक्ष्यले घाेराहीबाट हिंडेका थियाैं ।न भन्दै समयमै पुगेका थियाैं । एकपटक फर्केर हामी आएकाे ठाउँलाई हेर्याैं । दाङकाे विशाल र हरियाली फाँटले हाम्राे मन लाेभ्यायाे । मैले आफैलाई गाली गरें -त्यति रमणीय भूमिमा म किन जन्मिन नसकेकाे हाेला!भातै खाने भातैमा सुत्ने त्यति सम्पन्न ठाउँ!

राम्चेडाँडामा चारवटा हाेटेलहरु थिए। भात खाएर बास बस्न पाइने । बाटाकाे नजिकै प्राइमरी स्कुल थियाे,रणबहादुर शाहले खाेलिदिनु भएकाे ।हामी एउटा हाेटल जस्ताे छाप्राेकाे अगाडि उभिएर हाेटेलवालालाई साेध्याैं-‘दुईजना छाैं,भात खान्छाैं बास बस्न दिनुहुन्छ?, एकजना महिला बाहिर निस्केर भनिन् ,बस्नुस्,।हामीले भारी बिसायाैं भित्र लगेर ।बाहिर खुला ठाउँ भएकाे र भित्र एउटा काेठा भएकाे थियाे त्याे हाेटेल ।त्यस भित्रीकाेठामा हाेटेलवाला बस्थे भने बाहिरकाे खुला ठाउँमा पाहुनाहरु ।हाेटेलकाे नजिकै सार्वजनिक धाराे थियाे,तहीं गएर हातमुख धाेएर भित्र पस्याैं ।हाेटेलवाल्नीले हामी दुईजनाकालागि केराकाे भाेत्लाबाट बनेकाे १/१वटा चटाही ल्याएर बिछाइदिइन् ।कति न्यानाे र कमलाे त्याे केराकाे चटाही!त्यसकाे अगाडि कपासकाे डसनाकाे के काम!

रात झमक्कै पर्याे । ती बाजेनाति आइपुगेन् हामी बसेकाे हाेटेलमा । ती बुढा बाजेले आफ्नालागि पनि बस्ने ठाउँ राखिदिन भनेकाथिए । हामीले हाेटेलवाल्नीलाई भनिसकेका थियाैं । हामी बसेकाे हाेटेल नै पहिलाे थियाे,दाङतिरबाट आउनेहरुका लागि ।सेवारखाेला कटिसकेपछिकाे त्याे उकालाेमा कतै पनि बास बस्नकालागि घर छाप्राहरु थिएनन् ।गाउँ पुग्नलाई अलि हिड्नैपर्थ्याे ।खाली जङ्गल र बुट्यान मात्र थिए बाटाभरि । रात झमक्क परेकाे पनि क्यै बेर भैसकेकाे थियाे ।उनीहरु त्यतिन्जेल पनि आइनपुग्दा मेराे मनमा खुल्दुली हुन थाल्याे ।

हाेटेलवाल्नीले मटितेलकाे टुकी ल्याएर ढाेकाकाे संगारमा बसालिन् । टुकीले हामी बसेकाे ठाउँ पनि उज्यालाे भयाे ।हाम्रा अगाडि अन्नपूर्णका पहाड आएर खडा भए ,सिल्टीकाे थालभरि ।साथमा एकेक बटुका झाेल पनि थिए ।बटुकामा दुई तीनवटा तिहुनका कट्टा तैरिरहेका थिए ,कुवा भित्र माछा पाैडेसरि ।थालकाे चुचुराेमा एकएकवटा खाेर्सानी पनि राखिएकाे थियाे ।भाेककाे झाेंकले थाल बटुका रित्यायाैं र एकएक लाेहाेटा चीसाेपानी पनि खन्यायाैं,भातकाे माथिबाट ।

खाना खाइसकेपछि सुत्ने कुराे भयाे । दुबैजनाकाेलागि एकेक्टा चटाही छँदैथिए । झाेलाबाट बर्काे झिकें,।त्यसपछि मैले घाेराहीबाट किनी ल्याएाे ओखती संझें । बुढी अाैंला जत्राे शिशिमा थियाे त्याे झेाल ओखती। दाेकानेले भनेकाे थियाे -‘राती सुत्नुभन्दा अगाडि राम्राेसित लुताे कन्याउनु र कपासमा २/४ थाेपा ओखती राखेर लुताे भएकाे ठाउँमा दल्नु । केही दिनमै निकाे हुन्छ। ओखतीले पाेल्ने हुनाले क्यै बेर सहन सक्नुपर्छ ।,

मैले व्यापारीले भनेकाे सम्झिए र कन्याउन थालें,मकैकाे थाेताले लुताे भएकाे ठाउँमा ।आहा!क्या आनन्द!लुताे कन्याउँदा जति आनन्द आउँछ त्यस्ताे ,परमानन्द, मान्छेले जीवनमा अरु भाेग्छ जस्ताे लाग्दैन मलाई ।लुताे हातका कापमा ,पेटमा र बढीमात्रामा शरीरकाे गाेप्य भागमा फैलनेगर्छ । लुताे दुई थरिकाे हुन्छ-सुके लुताे र पाके लुताे ।सुकेलुताे कन्याउँदा जति आनन्द आउँछ त्यति पाकेमा आउँदैन ।पाकेलुताे खटिराकाे अवस्थामा पुगिसकेकाे हुनाले कन्याउने बित्तिकै रगत पिप आउने हुन्छ ।मेराे भने पहिलाे नम्बरकै लुताे थियाे ।

लुताे कन्याएर जुन आनन्द पाएँ त्यसपछि घाेराहीकाे बेपारीले भने अनुसार गर्न थालें ।त्यैबेला हाेटेलवाल्नी ,म बत्ती भित्र लग्छु,तपैहरु सुत्नुहाेला,भन्न आइन् ।मैले ,हुन्छ , भन्नेबित्तिकै उनकाे आँखा मैले घस्न तयार त्याे कपासमा परे छ र साेधिन् ,त्याे के नि?’।
म साेझाेमान्छे ढाँट्नुपर्ने के थियाे र भनें-‘लुताे छ त्यै हुनाले अाैषधी किनी ल्याएकाे थिएँ लगाउन थालेकाे ,
‘ए ज्जेइनी, भनेर उनी मैले ओछ्याएकाे त्याे चटाही थ्वात्त थुतेर लगिन् ।
,किन थुतेकाे म केमा सुत्ने हाे र , भन्दा ,लुताे लागेकाे मान्छेलाई चटै ओछाैन दिएता हाम्लै नि सर्च, भनेर भनिन् ।उनकाे लाेग्नेले ,दे न दे केस्मा सुत्नुहाेला ,भन्दा पनि नमानेर टुकी भित्र लगेर ढाेका ढ्याप्प लगाइन् ।

मेराे भरिया भाइले ,माड्साप!हजुरले याे ओच्छाएर सुत्नुस् म बरु भुइँमा सुत्छु ,भने । मैले त्यसाे गर्न उचित मानिन ।लगभग बीस लम्मरीकाे त्यत्राे भारी बाेकेर आएकाेलाई भुइँमा सुताएर आफु झाेलामात्र बाेकेकाे मान्छे चटाहीमा सुत्न उचित ठानेन ।उनकाे म प्रतिकाे सद्भावलाई मनमनै धन्यवाद दिएर भनें-‘भाे हाेला तिमी राम्ररी सुत म यतै बस्छु ।भाेलि बिहान मसिनाकाे उकालाे काट्नु छ ।साँझसम्म घर पुग्याैंभने आफ्नै घरमा मजाले सुताैंला ।,

एउटा चकटीमा बसेर रात हालें ।अलिकति कमलाे अाेछ्यानमा सुतेर बिग्रेकाे बानी !रातभर ती बाजेनातिलाई संझिएँ जाे हामी भन्दा पछाडि उकालाे चढ्दै थिए राम्चेकाे उकालाे ।।

( आज साउने संक्रान्ती जसलाई लुते संक्रान्ती पनि भनिन्थ्याे, उक्त सन्दर्भमा याे सँस्मरण पाठकसामु पस्केकाे छु ।)

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार