जेठ २३ काठमाडौँ — राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । अध्यादेश अनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी/तोडफोड गरे पुर्पक्षका लागि थुनामा समेत पठाउन सक्ने छ ।

केही दिनअघि कोरोनाको दोस्रो लहरको हटस्पट बनेको नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न दबाब दिएपछि सरकारकाे ध्यानाकर्षण भएकाे हाे।

जनहितमा जारी सन्देश

अब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी माथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । त्यस‌ैगरी स्वास्थ्य संस्थामा आगजनी गरेको खण्डमा भने ५ वर्ष कैद र ५ लाख रुपैयाँ वा दुवै हुन सक्ने व्यवस्था छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा अस्पतालका साथै संक्रामक रोगको निदान र उपचारका लागि सञ्चालित होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसनलाई समेत स्वास्थ्य संस्थामा राखिएको छ ।

अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्न स्वास्थ्य मन्त्रालयका बाह्रौं तहका कर्मचारीको अध्यक्षतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघका साथै निजी अस्पतालहरुको छाता संगठन अफिनका प्रतिनिधि सदस्य रहनेछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार