जेठ २३ काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताए ।

तर एसइईकाे परीक्षा भने अन्याेल जस्तै छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताएका छन् । मन्त्रालयमा भएको छलफलमा उनले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने गरि तयारी पूरा हुन लागेको जानकारी दिए ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार