आमा आज तिम्रो मुख हेर्ने दिन अरे
आमा तिम्रो मुख हेर्न पनि छुट्टाछुट्टै
तिथिमितिको विशेष दिन चाहिन्छ र?
तिम्रो मुख हेर्न अौंशी नै चाहिन्छ र?

गर्भैदेखि तिम्रो मुहार मेरो छातीमा टांसिएको छ
छातीको तस्विर निकालेर फेसबुकमा कसरी टांसु आमा
तिम्रो गर्भमा हुंदा मैले हानेका लात्तीको चोट
मलाई जन्माउदा तिमीले खेपेको पीडा
मसंग तिमीलाई तिर्ने वस्तु नै छैन सम्झना बाहेक।

सन्तानको मुतको चिसो थाङ्नामा आफु सुतेर
छातीको तातोले सास भराउने तिमी आमा
हाम्रो हरेक जिद्दीमा जहिले आफ्नो खुशि देख्यौ
तिम्रो जिद्दीमा रमाउने मलाई अवसर नै दिइनौ आमा।

भगवान हर घरमा पुग्न नसक्ने भयर होला
प्रतिनिधिको रुपमा घरघरमा तिमीलाई पठाए
सन्तान हुर्काउन गरेका तिम्रा संघर्षका कथा
सुन्नका दुखले तिमीलाई बृद्धाश्रम पुर्याउन थाले अामा।

तर पनि तर पनि सन्तानको श्रीबृद्धिका लागि
आशिर्वाद दिन तिम्रा हात हमेशा उचा हुन्छन् आमा
च्यसैले त म भन्छु आमालाई बृद्धाश्रम होईन
दिलमा राख,उनको आशिर्वाद अपरम्पार छ।

आमा तिमी भन्दा सुन्दर संसारमा कुनै वस्तु नै छैन
आमा तिमी भन्दा ठूलो भगवान कुनै मन्दिरमा छैनन्
तिम्रो आचल मेरो मन्दिर हो आमा
तिमी बिनाको मेरो जीवन अधुरो छ आमा
जनम जनम तिम्रो कोखमा जन्म लिन पाउं आमा
तिम्रै छहारीमा जीउन पाउं आमा तिम्रै छहारीमा जिउन पाउं।।
मातातिर्थ अौंशिको शुभकामना सम्पूर्ण आमाहरुमा🙏🙏🙏

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार