चैत २६ काठमाडौ – नेपालकाेे सबभन्दा ठूलो तरकारी बजारकाे पहिचान दिने गरि भक्तपुरमा सञ्चालन गरिएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा संचालन गरिएको छ।

बजारमा प्रवेश गर्न र निस्कन छुट्टाछुट्टै गेटको व्यवस्था गरिएको छ। एउटा गेट अरनिको राजमार्ग जोडिएको छ भने अर्को सिपाडोल जाने मेनरोडसँग जोडिएको छ। कृषि बजारमा तरकारी ल्याउने गाडी जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको तथा पार्किङकाे व्यवस्था गरिएको छ। कृषि बजारभित्रै मोटरले तरकारी पुर्‍याउने व्यवस्था मिलाइएको छ।

३२ करोड लगानीमा मुलुकको अहिलेसम्मको ठूलो र व्यवस्थित कृषि बजार सञ्चालन भएकाे छ। अहिलेका लागि तरकारीको स्टल सञ्चालनमा ल्याइएको हो। माछामासु र फलफूलका स्टल बनाउन बाँकी रहेको जनाइएको छ। यसलाई अहिलेसम्मकै व्यवस्थित बजारको रुपमा अघि बढाउने योजना छ। बजारभित्र साढे सात सय स्टल छन्। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेसम्म खुला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेल बिक्री भए पनि स्थानीयको लागि खुद्रा बिक्री गर्ने योजना रहेकाे सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार