फागुन २५ काठमाडौं  – २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्।

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी आ-आफ्नो धारमै फर्कने अवस्था आएकाे हाे। त्यस अनुरुप अब दुबै दलका केन्द्रीय कार्यालय पनि पहिलेकै आ-आफ्नै कायम गर्नुपर्ने हुन्छ। एमालेकाे धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा नै हुने भएको छ।

एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार धुम्बाराही स्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको छ। मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्नने र जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय नै कायम गर्ने रिजालले बताए ।

जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न केन्द्र स्तरबाट केहि निर्देशन नदिएको तर सर्वोच्चको फैसलापछि जिल्लास्थित कार्यसमितिले अबलम्बल गर्दै पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताए।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार