फागुन ७ काठमाडौं – आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा याे दिवस मनाउँदै आइएकाे छ।

२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए।

ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो। लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आए र ७ गते प्रजातन्त्रको घोषणा गरियो।

क्रान्तिको पृष्ठभूमि

राज परिवार बीचको गुटबन्दिका कारण भीमसेन थापाको पतन पछि अस्थायित्व कायम भयो। सन् १८४६ मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो।

राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७ को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतन्त्रता सँग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३ मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा (नेपाल-बेलायत १९२३ को सन्धि) हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।

१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको बैधानिक कानुन २००४ लागू गरे। त्यसै ताका चीनले १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१ मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो।

क्रान्तिको स्वरुप कस्तो थियोे ?

नेपाली काङ्ग्रेसको असोज ११ देखि १२, २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए । त्यस घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मोहन शमशेरको आलोचना भयो ।

नेपाली काङ्ग्रेसले गठन गरेको राजनीतिक दस्ता मुक्ति सेनाले सुरुमा विराटनगर लगायत पूर्वी पहाडी क्षेत्र कब्जामा लियो । वीरगञ्जमा थिरबम मल्ल र पुरन सिंहले क्रान्तिको नेतृत्त्व गरेका थिए । सशस्त्र आन्दोलनका क्रम मा थिरबम मल्लले वीरगति प्राप्त गरे । पश्चिमी क्षेत्रमा डा. कुँवर इन्द्रजित (के.आई.) सिंहले नेतृत्त्व गरेका थिए । उनको नेतृत्त्वमा भैरहवामा मुक्ति सेनाले ठुलो सफलता हात पारेको थियो । पूर्वी नेपालको मोर्चा सम्हालेका बी.पी. कोइराला र सुवर्ण शमशेरले बिनायुद्ध पनि धेरै ठाउँहरू कब्जा गरे ।

पूर्वी क्षेत्रदेखि पश्चिम क्षेत्रसम्म धेरै स्थानहरू मुक्ति सेनाले कब्जामा लियो र ती ठाउँहरूमा जन सरकार गठन गरियो । राणाहरूलाई कर नतिर्न आह्वान गरियो । यसले राणाहरूको उपस्थिति काठमाडौंमा मात्र सीमित रहन पुग्यो । स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे ।

वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्रअरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो । त्यसपछि राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।

दिल्ली सम्झौताका मुख्य सर्तहरु;

१.जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने

२.१० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने

३.श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने

४.फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने

५.आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।

क्रान्तिको सफलता

प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो।

त्यसपछि हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा याे वर्ष फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ। फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ। उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार