एउटा त्यस्तो मौनता
जो आवाज बनेर बाहिर निस्कन
सकेको छैन ।

एउटा त्यस्तो एकान्त
जसलाई मृतकहरूले बाहेक
कसैले देख्न सकेको छैन ।

एउटा त्यस्तो सम्बोधन
जसलाई सपनामा बाहेक कसैले बर्वराएको छैन ।

एउटा यस्तो खुशी
जो तिम्रो अनुरागमा
फुलेको थियो ओठहरूको बगैँचामा ।

केही त्यस्तो वेदना
जो तिम्रो सिमान्त खुसीमा भत्केको थियो
आँखाको डिलबाट ।

र /
केही त्यस्ता संयमताहरू
जसलाई तिम्रो विनम्र अनुरोधमा कुल्चेको थिएँ –
आफ्नै हत्केलाको रातो गुलाफ !

स्तब्ध मनहरू –

पस्न थाले
सपनाको ठूलो भ्वाङभित्र
रेटिन थाले
सम्झनाका नाङ्गा तारहरुमा
कस्सिन थाले
मायाको भूलभुलैयाहरूमा ।

हिंड्न थाले पुतलीहरुसित
गाउन थाले चराहरूसित- वियोग गीत
नाच्न थाले हावाहरूसित- क्लासिक नृत्य
उड्न थाले समयका वायुपङ्खी घोडा चढेर
टाढा- टाढा यो पृथ्वी भन्दा निक्कै पर
अर्कै दुनियाँमा ।

यो सुदुर भूगोलबाट
हावाको राजमार्गमा हुँदै सवार गरिहिँड्ने –

ए ! सम्झनाका यात्रीहरू हो
निरन्तर निर्मम दुर्घटनामा किन परिरहन्छौं हामी ?

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार