पालाको दियो निभ्यो
जुनताराको उज्यालो के आशा
मनको बत्ती बालेर कतिन्जेल जिंउ हामी??
मूर्तिको सामु बालेको दियो
छोरीको मुखमा दागबत्ती
बनाएर कतिन्जेल आँशु पिंउ हामी??

हे दैव दुखको सागरमा कति तैराउंछस्
कहिले दुखको पार लगाउंछस्?
तेरो सृष्टि अपराधीका लागि मात्रै हो भने
छोरीको जन्मै किन गराउंछस्??

आमा नै भन्न नपाई उसको मृत्युमा
तो क लगाउंछस
संसारमा ओर्लन नपाउंदै
राक्षसी तानाबानाको जालो बुनाउछस्
परिबन्धका नाराले फलामे
जंजीरले जेलेर
छोरीलाई नेल किन लगाउंछस्?

पापको बोक्नै नसकिने भारी बोकाइस्
मासिक धर्मको नेल ठोकाईस्
थुक्नु पाप,बोल्नु पाप,खानु पाप
गहनाका सांग्लामा जेलेर
रुपसीको नारित्वलाई
पुरुषको हवसको जेल ठोकाइस्।

विर्य उही गर्भाशय उही
जन्मने बाटो उहि ता पनि
दोस्रो दर्जामा झारिस्
दानवहरुको माझमा
नांगै नाच्न किन बाध्य पारिस्??

दैव तेरो सृष्टिमै दोष देख्छु म त
दैव तेरो बर्गिकरणमै खोट देख्छु म त
पृथ्वीतलमा आउने बाटो नै बन्द गरिदे
यहाँ त पलपल बोलीमा चोट देख्छु म त।

तातेताते,नानाचाचा गर्ने पलमा
अाफन्तकै कुदृष्टिले पार्यो छलमा
छोरीको योनी नै पाप बनाइस्
अब छोरीको सृष्टि रोक्दे थलमा।
छोरीको सृष्टि रोक्दे थलमा।।।

देवी काफ्लेका अन्य चार रचनाहरु पढनुहाेस्;

मृत्यु शैय्या(कविता)
वृद्धाश्रम र बा आमा
ब्यानरका नारा (कविता)
मेरो लास माथि नरोऊ, जाउ मेरो आवाज लिएर सिंहदरवार

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार