माघ २६ दैलेख – द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।

स्वर्गीय डेकेन्द्र थापा

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठका अनुसार उनलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर शाही पक्राउ परेका हुन। १ वर्ष ७ महिना १ दिन कैद भुत्तान गरी ​बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई फरार भएको प्रहरीले बताएको छ।

पक्राउ परेका अभियुक्त

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तत्कालीन समयमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका पत्रकार थापालाई साबिकको द्धारी गाविस–१ हालको नोमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो। तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर हत्या गरेकाे थियो। निर्मम तवरले मारिएका पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्वपक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका र बाँकी सजाय दिलाउन कारागार चलान गरिएको प्रहरी प्रमुख श्रेष्ठले जनाए।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार