न त सात महिनाकी बालिका सुरक्षित छन् न त ७८/७९ बर्षे हजुरआमा। युवती त झन् कहिं कतै कसैसंग सुरक्षित छैनन्।आफ्नै बाबुले बलात्कार गरेको,दाजुले बलात्कार गरेको घटनाहरु दैनिक जसो मिडियामा देख्न पाईन्छ। बालिका बलात्कारका घटना दिनहुं वृद्धि भयको छ। बलात्कार गर्ने घाँटी थिच्ने,मार्ने प्रबृति नै बनेको छ। निर्मला पन्त,रुविना पाख्रिन,गुलाव खातुन,सम्झना कामी हुँदै अहिले फेरि बैतडीमा भागिरथी भट्टको अस्मिता लुटेर बांच्ने अधिकार पनि खोस्यो अपराधीले।कतिपय घटनालाई गाउँमा नै ढिसमिस पारिन्छन् त अति भयका घटना लुकाउनै नसक्ने घटनालाई मात्रै बाहिर ल्याउंछन्।

बिडम्वना त के छ भने घटना घटिसकेपछि कतिपय उजुरी प्रहरीले दर्ता गर्नै मान्दैन। पिडितले वर्षौं सम्म न्यायका लागि भिख माग्नु पर्छ। आखिर किन यस्तो गरिन्छ? राज्यका समान नागरिक हैनन् र बालिका,युवती,महिलाहरु?

हाम्रो समाजले आज पनि महिलालाई दोस्रो दर्जामा राखेको छ।पुरुषप्रति आश्रित छ। पुरुष नै सर्वेसर्वा हो पुरुष चरा हो।उ जतासुकै चरेर आएपनि हुन्छ तर महिला घरको इज्जत हो उसले लिमिट पार गर्नुहुदैन भनेर छोराछोरीलाई पनि शिक्षा दिन्छ। युवतीलाई कसैले छोए पछि उ चरित्रहिन देख्छ समाजले तर त्यहि छुने मान्छे असल नागरिक र बहादुर छोरा देख्छ।समाजले सहज नस्वीकार्ने हुनाले पनि यस्ता कतिपय घटना लुकाईन्छन् त कतिपय पावरफुल ब्यक्ति संलग्न भयकोले उसलाई बचाउन पनि घटना रफादफा पारिन्छ।

हाम्रो समाजको बिकृत आँखाले कतिपय युवाहरुलाई अन्धो बनाईदिएको छ। हरेक घटनामा स्त्री नै दोषि देख्ने आ-आफ्ना अदालत खडा गर्छन् आजकल। जुनसुकै अवस्थाको स्त्री बलात्कारमा परेपनि उनिहरु दोष नारीलाई दियर महान् बन्ने होडबाजीमा छन्। सबै पुरुष खराब हैनन्। बलात्कार त खराब मानसिकता बोकेकाले गर्ने हो। कमसेकम असल नियत भयकाले खराब नियत राखेर चेलीबेटी प्रति कुदृष्टि राख्नेहरुसंगै लहैलहैमा मजाक उडाउने कि उनिहरुलाई साबधान गराउने? आज अरुका छोरी चेलीमाथि गिद्दे दृष्टि लाउने चरित्रमा आक्षेप लाउनेले भोलि आफ्नो घरमा पनि धावा बोल्न सक्छ भनेर सचेत बनाउने कि नबनाउने?लएउटी युवती बलात्कारको सिकार हुन्छे अनि बहादुरी देखाउँन् बैँस आएर केटासंग लुटपुटिन गई अनि केटाले राख्छ त? भनेर कुर्लन्छन्।

घटना भै सकेपछि टोलटोल,ब्यक्ति ब्यक्ति ,सामाजिक सन्जाल जतासुकै उम्रिन्छन् न्यायाधिशहरु पिडितको पिडामा नुनचुक हाल्न तर उनको जजमेन्टले पिडित माथि कति असर परेको हुन्छ कहिल्यै सोच्दैनन्। अनि बहस शुरु गर्छन् उत्ताउली थिई,छोटा लुगा लाउंथि,जोसंग पनि बोल्थी,घरबाहिर किन जान परेको त? हे भगवान यिनका दुख थरिथरिका छन्। जब आफ्नो घरमा पर्छ अनि चेतेर के गर्नु?

आज जतिपनि बलात्कार,हत्या,हिंसा भयका छन् सबैका दोषि केटि अर्थात स्त्रीले बेहोर्नु परेको छ। हामी अझै पनि छोरीलाई नैतिक शिक्षा दिइरहन्छौं तर छोरालाई कुन शिक्षा दिएका छौं। जसले स्त्रीलाई नङ्ग्याउदा पनि छोरो बहादुर मान्नुपर्ने? छोरीले परपुरुषको मुख हेर्नुहुदैन भनेर शिक्षा दिने हामीले छोराले परस्त्रीको मुख हेर्न हुदैन भनेर किन शिक्षा दिदैनौं? छोरीले रातबिरात हिड्न हुन्न भने छोरालाई पनि रातबिरात हिड्न हुदैन भनेर शिक्षा किन दिंदैनौं हामी? छोरीले रजश्वला हुंदा छोईन ,देखिन हुदैन भनेर गोठमा सुताउने,छोरालाई उनिहरुसंग देखिन छोईन हुन्न भनेर किन नसिकाउने हामीले? आज हामी जतिपनि नैतिक शिक्षा छोरीलाई सिकाएका छौं त्यति नैतिक शिक्षा छोरालाई पनि सिकाउं त केही हदसम्म हिंसा रोकिन्छ कि?

जब पुरुषले बिकृत मानसिकता बोक्छ तब उसमा एउटा अपराधीक तत्वले बास गर्छ। फल स्वरुप बिकृत बनेर दुर्घटना निम्त्याउंछ र उसले गर्ने सबैभन्दा जघन्य अपराध भनेकै यौनजन्य घटनामा जान्छ। उसले आफ्नो सफलताको बाटो नै स्त्री यौनाङ्गलाई देख्छ। घटित घटनाहरुको सूक्ष्म अध्ययन गर्दा जुनसुकै पद होस् ,धनी होस्,गरिब होस् ,जान्नेसुन्ने,बूढो जवान जे सुकै भय पनि म पुरुष हुंभन्ने एकप्रकारको घमण्ड चढेकाहरु स्त्रीकाे स्पर्शमा यौनसुख अनुभुत गर्ने प्रयास गर्छ। उसको बोलिमा समेत स्त्रीलाई तुच्छ बनाएर छाडिने शब्द आउछ आखिर किन?

स्त्रीको यौनाङ्गमा तिनै बिकृत मानसिकता बोकेका अपराधीले सुख भोग खोज्छन् जो उनै स्त्रीलाई जन्माउने जन्मदाता नै किन नहोउन्। हामीले देखे सुनेका घटनाले छोरी जोगाउन मुश्किल त छ तर केही मात्रामा बच्ने शिक्षा पनि दिएको छ।सचेत हुन हामी लापरवाही गरिरहेछौं। साना ,नर्मल,झिनामसिना कुरामा के शंका गर्ने भनेर होसियारी नअपनाउदा आज दैनिक रुपमानानीहरुले अकाल मृत्युवरण गरिरहेका छन्।

अपराधीहरु बांचेर खुलेआम हिड्ने तर पिडितले मुख देखाउन नपाउने यो समाजमा छोरीले न्याय कैले पाउँछन् खै? लाज हुनुपर्ने अपराधीलाई हो यहाँ त पिडितले लाज मान्नु परेको छ।
अपराधीलाई कारवाहिको सट्टा राजनैतिक दलको संरक्षणले पनि अपराध झन् मौलाउंदो छ। दलिय संरक्षणका कारण आज मात्रै हैन दशकौं सम्म पनि चेलीले न्याय पाउलान् भनेर सोच्न सकिने अवस्था रहेन।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार